यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले दुई जनालाई कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले ०७९ भदौ ८ गते तारकेश्वर गाउँपालिका–२ तारुकाका २८ वर्षीय मार्शल ढुङ्गानालाई दुई वर्ष ६ महिना कैद सजाय तथा २५ हजार रुपियाँ जरिवाना र  धादिङ बेनिघाटरोराङ गाउँपालिका–३  मलेखुका २२ वर्षीय दीपक परियारलाई दुई वर्ष कैद सजाय तथा १५ हजार रुपियाँ जरिवानाको फैसला गरेको जिल्ला अदालतकी सूचना अधिकारी रीता लामिछानेले जानकारी दिनुभयो ।

सोही घटनामा संलग्न भएको आरोप लागेका तारकेश्वर गाउँपालिका–२ का २७ वर्षीय सुदीप ढुङ्गानाले भने सफाई पाएका छन् ।

धादिङ गल्छी गाउँपालिका–१ की बालिकालाई नुवाकोटको तारकेश्वर गाउँपालिका–२, बगुवामा ल्याई ०७७ फागुन १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितको आमाले जिल्ला प्रहरी कार्यालयमा फागुन १५ गते उजुरी दिएकी थिइन् ।

पीडित बालिकाको फागुन १५ गते त्रिशूली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित पक्षको उजुरीपछि प्रहरीले घटनामा संलग्न भएकालाई गिरफ्तार गरी अनुषन्धान अघि बढाएको थियो ।

जिल्ला अदालतमा ०७७ चैत ९ गते दर्ता भएको मुद्दामा अदालतले चैत १० गते ६० हजार रुपियाँ धरौटीमा आरोपितहरूलाई तारेखमा रिहा गरेको थियो ।


नवदीप श्रेष्ठ