यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद र ५ हजार रुपियाँ जरिबाना

  ०७९ असार ३० गते

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले खडक नगरपालिका–८ कल्याणपुरका २२ वर्षीय अजयकुमार रामलाई असार २८ गते ६ महिना कैद र ५ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले असार २८ गते अभियोग दावी पुग्ने फैसला गर्दै उक्त कैद र जरिबाना गरेको हो ।

अदालतका सूचना अधिकारी भरतमणि पोखरेलका अनुसार रामबाट पीडितलाई २५ हजार रुपियाँ क्षतिपूर्ति भराउने समेत फैसला भएको छ ।

पीडित बालिकालाई रामले ०७८ कात्तिक ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा मङ्सिर १४ गते उजुरी दिएकी थिइन् ।

इलाका प्रहरी कार्यालयले मङ्सिर १४ गते नै उजुरी दर्ता गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा गरिएको थियो । रामविरुद्ध मङ्सिर १७ गते पक्राउ पुर्जी जारी भएको थियो ।

घटनामा संलग्न रामलाई प्रहरीले ०७८ पुस ६ गते गिरफ्तार गरेकोमा जिल्ला अदालतले ०७८ पुस २० गतेको आदेशले ४० हजार रुपियाँ धरौटी तारेखमा पुर्पक्षका लागि रिहा गरेको थियो ।


मनोहरकुमार पोखरेल