यौन दुर्व्यवहार गरेको कसुरमा ११ दिन कैद सजायको फैसला

  ०७९ असार ८ गते

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा तिरहुत गाउँपालिका–५ लोहजराका ७६ वर्षीय लक्ष्मी महतोलाई जिल्ला अदालतको असार ७ गतेको आदेशले ११ दिन कैद सजायको फैसला गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अभियोग दावी पुग्ने फैसला गर्दै ११ दिन कैद र १० हजार रुपियाँ जरिबानाको फैसला गरेको हो । पीडितलाई २ हजार रुपियाँ क्षतिपूर्ति कसुरदारबाट भराउने आदेश गरिएको छ ।

महतोले ०७७ मङ्सिर ११ गते यौन दुर्व्यवहार गरेको भन्दै सोही दिन पीडित पक्षले इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएको थियो ।

पीडितलाई दुधभात खान घरमा बोलाएर यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले घटनाकै दिन महतोलाई गिरफ्तार गरेको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले ०७७ मङ्सिर १२ गते उजुरी दर्ता गरेको थियो । पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मङ्सिर १२ गते स्वास्थ्य परीक्षण गरिएको थियो ।

जिल्ला अदालतमा ०७७ मङ्सिर २२ गते महतो विरुद्ध उजुरी दायर भएकोमा मङ्सिर २३ गते अदालतको आदेशमा २५ हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।


मनोहरकुमार पोखरेल