यौन दुर्व्यवहार गरेको कसुरमा ६ महिना कैद सजायको फैसला

  ०७८ भदौ ५ गते

सात वर्षीया दुई जना र १० वर्षीया एक जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा सप्तरी जिल्ला अदालतले कञ्चनरूप नपा–९ का २४ वर्षीय दिपक गाइमलाई भदौ ३ गते ६ महिना कैद सजाय गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा गाइमलाई ६ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवाना साथै पीडितलाई ३० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको स्रेस्तेदार कुमार मास्केले बताउनु भयो ।

यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गाइमलाई घटनाकै दिन ०७७ मङ्सिर १८ गते राति गिरफ्तार गरेको थियो ।

कञ्चनरूप नपा–८ स्थित प्राथमिक स्वास्थ्य केन्द्र नजिक खेलिरहेकी बालिकाहरूलाई ललाइ–फकाई चकलेट, चाउचाउ खुवाउने र मोटरसाइकलमा घुमाउने भनी कञ्चनरूप नपा–१२ स्थित धारापानी पिकनिक स्थलमा लगेर गाइमले यौन दुर्व्यवहार गरेको पीडित बालिकाहरूको आरोप छ ।

स.९ प. ६२३६ नम्बरको मोटरसाइकलमा लगेका आरोपितले पीडितहरूलाई यौन दुर्व्यवहार गरेपछि होहल्ला गर्दा मानिसहरू भेला भई जोगिएको पीडित बालिकाहरूको आरोप छ ।

इलाका प्रहरी कार्यालय ठेलियाबाट खटिएको प्रहरीले यौन दुर्व्यवहार घटनाको आरोपमा गाइमलाई सोही दिन गिरफ्तार गरेको थियो ।

बालिकाहरूको मङ्सिर १८ गते राति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

पीडित पक्षले दिएको उजुरी इलाका प्रहरी कार्यालय कञ्चनरूपले मङ्सिर १९ गते दर्ता गरेको थियो ।

जिल्ला अदालतमा ०७७ पुस १२ गते मुद्दा दायर गरिएकोमा अदालतले ०७७ पुस १३ गते १ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा भएका थिए ।


मनोहरकुमार पोखरेल