यौन दुर्व्यवहार गरेको कसुरमा डेढ वर्ष कैद सजायको फैसला

  ०७७ मङ्सिर २७ गते

११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा कुश्मा नगरपालिका–४ का १९ वर्षीय विपिन परियारलाई डेढ वर्ष कैद सजाय र १० हजार जरिवानाको फैसला भएको छ ।

पर्वत अदालतका न्यायधीश बलराम त्रिपाठीको इजलासले मङ्सिर २५ गते गरेको फैसलामा आरोपित परियारलाई १ वर्ष ६ महिना कैद सजाय र १० हजार रुपियाँ जरिवानाको फैसला गरेको पर्वत जिल्ला अदालतका श्रेष्तेदार रामबहादुर थापाले इन्सेक प्रतिनिधिलाई फोनमार्फत जानकारी दिनुभयो ।

पीडितलाई आरोपित परियारले ०७६ माघ ६ गते दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले सोही दिन आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्वतमा उजुरी दिएका थिए ।

प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरी अनुसन्धान सुरु गरेको थियो ।

पर्वत जिल्ला अदालतले आरोपितलाई ०७७ असार १४ गते ८० हजार रुपियाँ धरौटीमा छुटाउने आदेश दिएको थियो ।

धरौटीमा छुटेका आरोपितलाई अदालतको फैसला पछि पुनःगिरफ्तार गरी कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका इन्स्पेक्टर मनिष श्रेष्ठले बताउनुभयो ।


सन्तोष थापा