यौन दुर्व्यवहार गरेको कसुरमा पाँच महिना कैद सजायको फैसला

  ०७७ मङ्सिर २४ गते

१५ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको कसुरमा नौगाड गाउँपालिका–५ का ५७ वर्षीय उज्जलसिंह धामीलाई जिल्ला अदालत, दार्चुलाका न्यायाधीश लोकजङ्ग शाहको इजलासले मङसिर २३ गते पाँच महिना कैद सजाय, जरिवाना र पीडितलाई क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको छ ।

यौन दुर्व्यवहार गरेको कसुरमा कसुरदार धामीविरुद्ध जिल्ला अदालत,दार्चुलाले पाँच महिना कैद सजाय, ५ हजार रुपियाँ जरिवाना र १० हजार रुपियाँ बालिकालाई क्षतिपुर्ति दिनु पर्ने फैसला सुनाएको जिल्ला अदालतका डिठ्ठा रुद्रप्रसाद बोगटीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

०७७ असार २४ गते बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले असार २७ गते जिल्ला प्रहरी कार्यालय, दार्चुलामा उजुरी दिएको थियो ।

यसअघि जिल्ला अदालत, दार्चुलाले साउन १२ गते आरोपित धामीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण असार २७ गते जिल्ला अस्पताल,दार्चुलामा गरिएको थियो ।


नरेन्द्रसिह कार्की