यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला

  ०८१ कात्तिक २३ गते

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ ।

जिल्ला अदालत, कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले कसूर ठहर गरी डेढ महिना  कैद र ५ हजार रुपियाँ जरिवाना भराउने फैसला गरेको जिल्ला अदालत, कैलालीका श्रेष्तेदार मानबहादुर विष्टले बताउनु भयो ।

पीडित बालिकालाई ०८० जेठ २ गते आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय, कैलालीमा आरोपित विरुद्ध जेठ ५ गते उजरी दिनुभएको थियो ।

प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आरोपित विरुद्ध जिल्ला अदालतमा यौन दुर्व्यवहार अन्तर्गत मुद्दा दर्ता गरेकोमा जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको ०८१ असार ७ गते बसेको इजलासले आरोपितलाई २५ हजार रुपियाँ धरौटी र साधारण तारेखमा रिहा गरेको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८० जेठ ५ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको थियो ।


मैनामोती चौधरी