यौन दुर्व्यवहार गरेको कसुरमा १८ दिन कैद सजायको फैसला

  ०८१ असोज १५ गते

अपाङ्गता भएकी हुनु भएकी १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले उर्लावारी नगरपालिका-७ सितटोलका ७० वर्षीय दिव्यश्वर निरौलालाई १८ दिन कैद सजायको फैसला गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद पौडेलको ०८१ असोज १३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १० हजार रुपियाँ जरिबाना र २० हजार रुपियाँ पीडितले पाउने गरी कसुरदारबाट क्षतिपूर्ति भराउन आदेश भएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनु भयो ।

पीडित बालिकालाई ०८१ वैशाख ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा कसुरदारविरूद्ध पीडित पक्षले वैशाख ४ गते इलाका प्रहरी कार्यालय, उर्लावारीमा उर्लावारीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई प्रहरीले वैशाख ४ गते गिरफ्तार गरी जिल्ला अदालतमा ०८१ वैशाख २१ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश मोहन सुवेदीको वैशाख २२ गते आदेशले ५० हजार रुपियाँ धरौटी माग गरेको थियो । सोही दिन निरौला धरौटी बुझाएर रिहा भएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्गलवारे अस्पताल, उर्लावारीमा ०८१ वैशाख ४ गते गरिएको थियो ।


विनोद सुवेदी