यौन दुर्व्यवहार कसुरमा १२ वर्ष ६ महिना कैद सजाय फैसला

  ०७९ चैत २० गते

सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले त्रिवेणी गाउँपालिका–१ निघुरादिनका ६१ वर्षीय कैलाश पोमु लिम्बूलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको चैत १९ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ५० हजार रुपियाँ जरिबाना भराउन आदेश भएको अदालतका इजलास सहायक निमाछिरिङ शेर्पाले बताउनु भयो ।

अदालतको सोही आदेशले कसुरदारलाई पीडित राहत कोषमा २ हजार २ सय रुपियाँ भराउन आदेश दिएको छ ।

पीडित बालिकालाई आरोपितले ०७९ भदौ ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

आरोपितलाई प्रहरीले भदौ ८ गते गिरफ्तार गरी जिल्ला अदालतमा भदौ ३० गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ल्ला अदालतको भदौ ३१ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ भदौ ८ गते गरिएको थियो ।


देवराज गुरुङ