यौन दुर्व्यवहार कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला

  ०८१ माघ २६ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई दुई वर्ष ६ महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको ०८१ माघ २५ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै १ लाख रुपियाँ जरिबाना र पीडितले पाउने गरी १ लाख ५० हजार रुपियाँ कसुरदारबाट भराउन आदेश भएको अदालतका श्रेस्तेदार सीताराम खड्काले बताउनु भयो ।

शुभम् फाउण्डेशनमा रहेका बालबालिकलाई यौन दुर्व्यवहार गरेको आरोपमा साकेला गाउँपालिका-२ रतन्छाका ७६ वर्षीय मदन राईलाई प्रहरीले अनुसन्धानका लागि ०८० वैशाख २९ गते गिरफ्तार गरेको थियो ।

आरोपित राईविरुद् प्रहरीले जिल्ला अदालतमा ०८० जेठ २१ गते यौन दुर्व्यवहार शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

जिल्ला अदालतको आदेशमा राई ०८० जेठ २२ गते ४ लाख रुपियाँ धरौटी बुझाएर रिहा भएका थिए । धरौटीमा रिहा भएपनि अन्तिम आदेश नभएसम्म राईलाई शुभम् फाउण्डेशन जान अनुमति थिएन ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन शुभमका सञ्चालक मदन राईलाई बाल यौन दुर्व्यवहार आरोपमा अनुसन्धानका लागि फाउण्डेशनबाटै गिरफ्तार गरिएको थियो ।

इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयल र राष्ट्रिय मानव अधिकार आयोग शाखा कार्यालय, खोटाङ प्रमुख गीता दाहालको टोलीले शुभमको घटनाको ०८० वैशाख २९ गते स्थलगत अनुगमन गरेको थियो ।

फाउण्डेशनमा बसेर निस्किएकी १७ वर्षीया बालिकाले घटनाका विषयमा बताएपछि प्रहरीले राईलाई गरिफ्तार गरेको थियो ।


तारानाथ फुयल