यौन दुर्व्यवहार कसुरमा एक वर्ष पाँच महिना कैद सजायको फैसला

  ०८० साउन २३ गते

चार जना बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले हतुवागढी गाउँपालिका३ सिन्द्राङका ३७ वर्षीय पूर्णकुमार राईलाई एक वर्ष पाँच महिना कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश गेहेन्द्रराज पन्तको साउन २३ गतेको इजलासले कसुर गरेको ठहर गर्दै कैद सजायसँगै ३१ हजार ५ सय रुपियाँ जरिबाना र पीडितले पाउने गरी ७० हजार रुपियाँ क्षतिपूर्ति भराउन आदेश भएको अदालतका श्रेस्तेदार मोहन घिमिरेले बताउनु भयो ।

आरोपितले १३ वर्षीया दुई जना र १५ वर्षीया दुई गरी चार जना बालिकाहरूलाई ०७९ मङ्सिर १० गते, १३ गते, १५ गते र २८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले अरोपितविरुद्ध ०७९ पुस २८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पुस २८ गते गिरफ्तार गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७७ माघ २२ गतेको आदेशमा आरोपित पुर्पक्षका लागि थुनामा थिए । बालिकाहरूको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ पुस २९ गते गरिएको छ ।


गणेश विष्ट