यौन दुर्व्यवहार आरोपितलाई कैद र जरिबाना

  ०७८ चैत ११ गते

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सिरहाको लहान नगरपालिका–३ का २९ वर्षीय ईनुस भनिने युनस मियाँलाई अदालतले चैत ९ गते २५ दिन कैद र १ हजार रुपियाँ जरिबानाको फैसला गरेको छ ।

न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आरोपितलाई फैसला गरेको सप्तरी जिल्ला अदालतले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले ०७८ असार ८ गते यौन दुर्व्यवहार गरेको भन्दै आरोपितविरुद्ध पीडितकी आमाले असार ९ गते इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दिएकी थिइन् ।

आरोपितलाई गाउँलेले असार ८ गते नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । पीडितको स्वास्थ्य परीक्षण असार ९ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको थियो ।

प्रहरीले आरोपितविरुद्ध असार ९ गते यौन दुर्व्यवहार अभियोगमा इलाका प्रहरी कार्यालय कञ्चनरूपमा उजुरी दर्ता गरेको थियो ।

जिल्ला अदालतमा ०७८ असार ३१ गते अभियोजनपत्र दायर गरिएकोमा अदालतले आरोपितलाई साउन ५ गते १० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा गरेको थियो ।


मनोहरकुमार पोखरेल