यौन दुर्व्यवहारमा मदन राईलाई कारबाही गर्न माग

  ०८० वैशाख २९ गते

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ मा सञ्चालित शुभद्रा मदन फाउण्डेशन(शुभम) का सञ्चालक दमन राईलाई कारबाही गर्न बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान(सिजप) ले वैशाख २८ गते विज्ञप्ति जारी गरी माग गरेको छ ।

346104466_3036135403199000_5351798833852778346_n

सिजपका अध्यक्ष राजेश शर्मा र महासचिव मीना शर्माद्वारा संयुक्त रूपमा जारी विज्ञप्तिमा मदन राईलाई कारबाही गर्न माग गरिएको छ ।

साकेला गाउँपालिका–२ रतन्छाका ७५ वर्षीय मदन राईले बालबालिकालाई यौन दुर्व्यवहार गरेकाले कारबाही गर्न माग गरिएको छ ।

“फाउण्डेशनमा रहेका बालबालिकालाई मदन राईले कुनै पनि प्रकार वा माध्यमले यौन दुव्र्यवहार गरेको पुष्टि” जारी विज्ञप्तिमा उल्लेख छ ।

मदन राईले फाउण्डेशनमा रहेका बालबालिकालाई कुनै न कुनै प्रकार वा माध्यमबाट यौन दुर्व्यवहार गरेको समाचार विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन वा प्रसारण भएको छ ।

सिजपको विज्ञप्तिमा शुभमका सञ्चालक मदन राईले संविधानलाई नटेरेको र राईका कारण शारिरीक वा मानसिक तनाव व्यर्होन बाध्य भएका बालबालिकाको उचित संरक्षणसँग सम्बन्धित निकायसँग माग गरिएको छ ।

नेपालको संविधान २०७२ ले धारा ३९ मा बालबालिकाको हकलाई व्यवस्था एवम् ब्याख्या गरेको छ । सोही धाराको उपधारा ६ मा कुनै पनि बालबालिकालाई कुनै पनि माध्यम वा प्रकारले शारिरीक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न वा अनुचित प्रयोगलाई निषेध गरिएको छ ।

“बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ७ को उपदफा ५ मा प्रत्येक बालबालिकालाई हरेक किसिमका शारिरीक वा मानसिक हिंसा र यातना, हेला, अमानवीय व्यवहार, लैङ्गिक वा छुवाछुतजन्य तथा यौनजन्य दुर्व्यवहार र शोषणविरुद्ध संरक्षण प्राप्त गर्ने अधिकार सुनिश्चित गरिएको छ ।” जारी विज्ञप्तिमा उल्लेख छ ।

“बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ को उपदफा ३ मा बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाऊभाउ प्रदर्शन गर्ने कार्यलाई, यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने दबाव दिने वा धम्क्याउने वा अरु कसैको शरीरको सम्वेदनशील अङ्ग छुन वा समाउन लगाउने वा यौनजन्य मनसायले वेहोस पार्ने वा यौनजन्य अङ्ग प्रदर्शन गर्ने वा गर्न लगाउने कार्यलाई बाल दुव्र्यवहार गरेको मानिन्छ ” सिजपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

२ सय रोपनी क्षेत्रफलमा फैलिएको फाउण्डेशनमा आवासको व्यवस्थापन गरिएको छ ।

सडक बालबालिका, अभिभावकविहीन बालबालिका र कतिपयकै सदस्यहरुले समेत व्यवहारिक शिक्षाका लागि बालबालिकालाई फाउण्डेशनमा भर्ना गरेको शुभमद्वारा सञ्चालित जनजागृति माध्यमिक विद्यालयका प्रिन्सिपल सूर्य राईले इन्सेककर्मीसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालबालिकामाथि यौन दुर्व्यवहार भएको विषयमा सूर्य राईले सञ्चारमाध्यममा बाहिर आएका कुराहरु धेरै हदसम्म सत्य भएको स्वीकार गर्नु भएको छ ।

भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–६ स्थित जनदय माध्यमिक विद्यालयबाट ०७९ चैत १४ गते शुभम फाउण्डेशनमा अध्ययन अवलोकन भ्रमणमा गएको बेला फाउण्डेशनमा रहेका बालबालिकलाई व्यवहारिक शिक्षाका नाममा दुख दिएको दृश्य देखिएको इन्सेक भोजपुर प्रतिनिधि गणेश विष्टले बताउनु भयो ।

आठ वर्षदेखि माथिका बालबालिकालाई जीवनपयोगी शिक्षाका नाममा फाउण्डेशनभित्र कृषि काममा लगाउने अवस्था रहेको इन्सेक खोटाङ प्रतिनिधि तारानाथ फुयलको भनाइ छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर