यौन दुर्व्यवहारका आरोपितहरू धरौटीमा छुट्दै

१० वर्षीया बालिकालाई ०७५ माघ ६ गते विद्यालयबाट घर फर्किरहेको अवस्थामा पिछा गर्दै जङ्गलमा पुगेपछि यौन दुर्व्यवहार गरेको घटनाका आरोपित सिन्धुपाल्चोक जिल्ला बाह्रविसे गउँपालिका–१ त्रिपुरासुन्दरी घर भएका ३० वर्षीय हरि विश्वकर्मालाई जिल्ला अदालतले तोकेको धरौटी राख्न नसकी धुलिखेल कारागार पठाएको छ ।

आरोपितलाई ०७५ माघ ७ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो । पीडितका आफन्तले माघ ८ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणीसम्बन्धी कसुर (बाल यौन दुराचार) शीर्षकमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ८ गते धुलिखेल अस्पतालमा गरिएकोमा अस्पतालले सोही दिन प्रतिवेदन दिएको थियो ।

यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ०७५ फागुन २ गते जिल्ला अदालतमा अभियोग दर्ता गराएको हो ।

जिल्ला अदालतले ०७५ फागुन ३ गते एक लाख धरौटी लिएर तारेखमा छोड्न आदेश दियो । अदालतले तोकेको धरौटी राख्न नसकी आरोपितलाई धुलिखेल कारागारमा पठाइएको हो । यस मुद्दामा पीडित पक्षलाई फागुन २६ गते बकपत्रका लागि अदालतले बोलाएको छ ।

यसैगरी, १५ वर्षीया बालिकालाई ०७५ माघ १३ गते मोवाइलमा फोन गरी एकान्तमा बोलाएर यौन दुर्व्यवहार गर्ने रामेछाप जिल्ला, दोरम्बा गाउँपालिका–६ का ३० वर्षीय भिमबहादुर श्रेष्ठलाई ०७५ माघ १३ गते प्रहरीले गिरफ्तार गरी अनुसन्धानका लागि हिरासतमा लिएको थियो ।

पीडितका आफन्तले ०७५ माघ १३ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा बाल यौन दुरुपयोग शीर्षकमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १३ गते धुलिखेल अस्पतालमा गरिएकोमा अस्पतालले माघ १७ गते परिक्षण प्रतिवेदन दियो ।

यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले ०७५ फागुन ६ गते जिल्ला अदालतमा अभियोग दर्ता गरायो ।

जिल्ला अदालतले ०७५ फागुन ७ गते आरोपितसँग १ लाख धरौटी लिएर तारेखमा छोड्न दिएको आदेश अनुसार आरोपित रिहा भए ।

आरोपितले अदालतको बयानमा ‘गाडीबाट यात्रीहरू ओराली रातको ११ बजे हर्दन भन्ने स्थानमा उनी आफूलाई भेट्न आएको’ जिकिर गरेका थिए ।

बालिका दुर्व्यवहारका अधिकांश घटनामा प्रमाण कमजोर र ‘होस्टाइल’ हुने गरेका कारण आरोपितहरू रिहा हुने गरेको अधिकारकर्मीहरूको भनाई छ ।

मूलुकी अपराध संहिता २०७४ को परिच्छेद ८ मा करणीको आशयले अस्वभाविक रूपमा बालबालिकालाई एकान्तमा लगेमा बाल यौन दुरुपयोग हुने उल्लेख छ ।


भोजराज तिमल्सिना