यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थी लेकतिर, विद्यालयमा पठनपाठन बन्द

  २०८१ जेठ ७

जिल्लामा यार्सा सङ्कलन गर्न शिक्षक–विद्यार्थीहरु लेकतिर गएपछि विद्यालयमा पठनपाठन बन्द भएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका भरिका २९ ओटा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षक यार्सागुम्बा सङ्कलनका लागि लेकतिर गएपछि विद्यालय बन्द गरिएका छन् । यार्सा सङ्कलनको समय सुरु भएकाले ०८१ जेठ ५ गतेदेखि २५  गतेसम्म नगरपालिका भरिका विद्यालय बन्द गरिएको त्रिपुरासुन्दरी नगरपालिकाका शिक्षा संयोजक भीम बहादुर थापाले बताउनु भयो । अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी सङ्कलनका लागि लेकतिर जाने भएकाले नगरपालिका शिक्षा समिति, विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुको अन्तरक्रियाबाट वर्षे र हिउँदे बिदामा मिलान हुने गरी कम्तीमा तीन साताका लागि विद्यालय बन्द गर्नुपरेको उहाँले बताउनु भयो ।

हरेक वर्ष जडीबुटी सङ्कलन गरिने यो मौसममा अधिकांश विद्यालय बन्द हुने गरेका छन् । त्रिपुरासुन्दरी नगरपालिका भित्रका २९ ओटा सामुदायिक विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी यार्सालगायत अन्य जडीबुटी सङ्कलनका लागि अभिभावकसँगै लेकतिर जाने गरेका छन् ।

जिल्लाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा हो । अन्न उत्पादन कम हुने स्थानीयले जेठ र असार महिनामा सङ्कलन गरिने जडीबुटी बेचेर वर्षभरिको खर्च चलाउँदै आएका छन् । त्यसका लागि कतिपय घरमा ताल्चा लगाएर लेकतिर जाने गरेको कस्तुरी माध्यमिक विद्यालय भूतिङ्ग्रका प्रधानाध्यापक विष्णुलाल केसीले बताउनु भयो  ।

यार्सा सङ्कलन सुरु भएसँगै जिल्लाका त्रिपुरासुन्दरी , ठुलीभेरी नगरपालिका र  जगदुल्ला, मुड्केचुला, काइके, शे–फोक्सुण्डो, डोल्पोबुद्ध , छार्काताङ्सोङ गाउँपालिकाका स्थानीयबासी लेकतिर जाने चटारोमा रहेको त्रिपुराकोटका स्थानीय जुन बहादुर सार्कीले बताउनु भयो ।  यार्सा सङ्कलनका लागि शिक्षक, अभिभावक र विद्यार्थीहरु लेकतिर जाने भएकाले नगरपालिका भित्रका विद्यालय वर्षेनी १ महिना बन्द हुने गर्दछन् ।  जेठको पहिलो साता  यार्सा सङ्कलन गर्न लेकतिर हिँडेका विद्यार्थी असारमा मात्रै फर्कने गर्दछन् । आर्थिक अवस्था कमजोर भएका कारण विद्यालय पढ्ने बालबालिका यार्सा सङ्कलन गरी आर्थिक उपार्जन गर्ने गर्दछन् ।

बालबालिकादेखि ज्येष्ठ नागरिक समेत यार्सा सङ्कलन गर्न जाने गर्दछन् । ज्येष्ठ नागरिक भन्दा बालबालिकाले नै यार्सागुम्बा बढी टिप्ने भएकाले यार्सा टिप्ने समयमा अभिभावकले बालबालिकालाई आफूसँगै लेकतिर लग्ने गर्दछन् । यार्सागुम्बा सङ्कलनको समय नजिकिए सगै जिल्ला भित्रका  बस्तीमा विद्यालय मात्र बन्द होइन गाउँ नै सुनसान हुनेगरेको स्थानीय गंगे सार्कीको भनाइ छ ।

Photo20240520Dolpa (3)

Photo20240520Dolpa (1)

Photo20240520Dolpa (2)


पुर्ण सार्की