यातना घटनाका आरोपित बाबु गिरफ्तार

  ०८१ साउन २६ गते

चार र ६ वर्षीया छोराहरूलाई शारीरिक यातना दिएको आरोपमा प्रहरीले खिजिदेम्बा गाउँपालिका-९ का ४३ वर्षीय फुरिञ्जी शेर्पालाई ०८१ साउन २४ गते गिरफ्तार गरेको छ ।

वैदेशिक रोजगारीमा साइप्रसमा रहेकी ३५ वर्षीया पत्नी छोटी शेर्पासँग रीस साँध्न छोराहरूलाई यातना दिने र भिडियो र फोटाे पठाउने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ ।

आफूलाई रीस देखाउन र मानसिक तनाब दिन छोरालाई यातना दिएर भिडियो र फोटाे पठाउने गरेको छोटी शेर्पाले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।

एकान्तमा घर भएका कारण आरोपितले छोरालाई पटकपटक र अन्तिम पटक साउन २० गते यातना दिएपछि स्थानीयले आरोपितविरूद्ध साउन २३ गते प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले दिएको सूचना र बालकहरूकी आमासँग सम्पर्कका क्रममा आरोपितले बालकहरूलाई अमानवीय तरिकाले यातना दिएको पाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भयो ।

आरोपितले छोराहरूलाई कुटपिट गर्नुका साथै खड्कुलोमा राखेर पानीसँगै उमाल्ने, डोरीले बाँधेर उधोमुण्टो पारेर झुण्ड्याउने, बाँधेर राखेर यातना दिने गरेको फोटो र भिडियो आफैँले खिच्ने गरेको पाइएको इन्स्पेक्टर कार्कीले बताउनु भयो ।

खिजिदेम्बा गाउँपालिका-९ एकान्तमा घर भएका कारण स्थानीयले हत्तपत्त थाहा नपाउने भएकाले छोरालाई सधैँजसो यातना दिने गरेको स्थानीयले बताएका छन् ।

छोरालाई यातना दिएको र आफूलाई समेत मानसिक तनाब दिएका कारण घटनाका आरोपित ४३ वर्षीय फुरिञ्जी शेर्पालाई कडा कारबाहीको माग छोटी शेर्पाले गर्नु भएको छ ।

छोराहरूलाई यातना दिने बाबुलाई खिजिदेम्बा गाउँपालिका-९ वडा कार्यालयको सहयोगमा प्रहरीलाई जिम्मा लगाइको वडाध्यक्ष ङवाङफुरी शेर्पाले बताउनु भयो ।

घटनाका आरोपितलाई गिरफ्तार गरेपछि प्रहरीले बालकहरूलाई विभिन्न संघसंस्था र स्थानीय तहले सञ्चालन गरेको सिद्धिचरण नगरपालिका-१२ मा रहेको सुरक्षित आवास गृहमा साउन २३ गतेदेखि राखिएको छ ।

पीडित बालकहरूकाे स्वास्थ्य परीक्षण र उपचार जिल्ला अस्पतालमा साउन २५ गते गरिएको छ ।

नेपालको संविधानले धारा ३९ मा बालबालिकाको हकलाई व्याख्या एमव् व्यवस्था गरेको छ । सोही धाराको उपधारामा ७ मा कुनैपनि बालबालिकालाई घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किमिसको यातना दिन पाइने छैन भनी उल्लेख गरिएको छ ।

Photo 20240808 Okhaldhunga (1) (1)

Photo 20240808 Okhaldhunga (3) (1)

Photo 20240808 Okhaldhunga (2)


सरस्वती बानिया