यथाशीघ्र शान्ति प्रक्रिया टुङ्ग्याउ–इन्सेक

  ०८० मङ्सिर ५ गते

संसदमा विचाराधीन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशक्य छिटो पारित गर्न तथा न्याय र परिपूरणको सवालमा गम्भीर हुन राजनीतिक दल र सरकारसँग इन्सेकले आह्वान गरेको छ ।

शान्ति सम्झौता भएको १८ औँ वर्षका दिन ०८० मङ्सिर ५ गते इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले एक विज्ञप्ति जारी गरी सो विधेयकमार्फत शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र टुङ्ग्याउन आग्रह गर्नु भएको हो ।

Press Release_2080_08_05

‘दश वर्ष लामो सशस्त्र द्वन्द्व समाप्तीका लागि नेपाल सरकार र माओवादीबीच २०६३ मङ्सिर ५ गते सम्पन्न भएको विस्तृत शान्ति सम्झौताको १८ वर्ष हुन लाग्दा पनि हजारौँ द्वन्द्वपीडित न्याय र परिपूरणबाट विमुख छन् । सङ्क्रमणकालीन न्यायको विषयमा राजनीतिक दल र एकपछि अर्को गरी आजसम्मका सरकारहरूले देखाएको उदासिनताप्रति हामी चिन्ता व्यक्त गर्दछौँ ।’–विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा संयुक्त राष्ट्रसङ्घका महासचिव एण्टोनियो गुटरेसले कात्तिक १४ गते संसदको संयुक्त बैठकमा सम्बोधन गर्दै द्वन्द्वपीडितको न्यायको सवाललाई केन्द्रमा राखी, अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र सर्वोच्च अदालतका फैसलाहरूको आधारमा सङ्क्रमणकालीन न्यायको प्रकृयालाई टुुङ्ग्याउन आग्रह गरेको विषयलाई स्मरण गराइएको छ ।


अनलाइन डेस्क