म्याग्दीका २७ स्थानकाे पिउने पानीमा दिसाको जिवाणु भेटियो

  ०८१ असार २७ गते

म्याग्दीका विभिन्न ५९ स्थानको पानीको नमुना परीक्षण गर्दा २७ स्थानमा प्रयोग हुने पिउने पानीमा  दिसाको जिवाणु भेटिएकाे छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका ५९ स्थानबाट नमुना संकलन गरेर ल्याएर परीक्षण गर्दा ४७ प्रतिशत स्थानका पानी पिउन अयोग्य भेटिएको हो ।

स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीका अनुसार जिल्लाका मुख्य मुख्य स्थानमा संकलन गरिएको पानीको परीक्षण गर्दा ४७ प्रतिशत नमुनाको नतिजा पानी प्रयोग नगर्दा राम्रो हुने खालको देखियो । तर पनि त्यसलाई व्यवस्थित तथा निर्मलीकरण गरेर शुद्ध बनाएर भने प्रयोग गर्न सकिन्छ ।

परीक्षण गरिएको नमुना मध्ये १४ प्रतिशत स्थानको पिउने पानीमा मानव दिसामा पाइने जीवाणु नै भेटिएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य कार्यालय म्याग्दीले जिल्लाका पाँच ओटा स्थानीय तहमा पुगेर संकलन गरेको पिउने पानीको नमुना परीक्षण गर्दा स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य इकाई, खानेपानीको ट्याङ्की र समुदायमा रहेको धाराको खानेपानीमा दिसामा हुने जीवाणु ‘इ.कोली’को मात्रा उच्च रहेको पाइएको जनाएको छ ।

स्वास्थ्य कार्यालयले सङ्कलन गरेको नमुनामध्ये १४ प्रतिशतमा दिसामा पाइने जिवाणु भेटिएको जनस्वास्थ्य निरिक्षक भिमप्रसाद आचार्यले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो नमुना संकलनको क्रममा जिल्लाको बिम, रूम, मुदी स्वास्थ्य चौकी, गलेश्वरमा रहेको स्वास्थ्य इकाइमा ‘इ.कोली’को मात्रा उच्च भेटिएको छ । गलेश्वरमा रहेको ज्येष्ठ नागरिक आश्रमको पानीमा त झण्डै शतप्रतिशत नै भेटियो भन्न मिल्ने खालको भएको उहाँले जानकारी दिनुभयो ।

स्वास्थ्य चौकीकै खानेपानीको धारामा जीवाणु भेटिएपछि सम्बन्धित स्थानीय तहलाई प्रयोगशालाको विवरण सहित जानकारी गराइएको स्वास्थ्य कार्यालयका प्रमुख भुवन ठकुराठीले बताउनुभयो । सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्रसम्म संकलित नमूना बेनी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा १४ प्रतिशतमा ‘इ.कोली’ ३३ प्रतिशतमा अन्य जीवाणु भेटिएको छ भने ५३ प्रतिशत खानेपानी पिउन योग्य रहेको बताइएको छ । बेनी नगरपालिकामा १६ ओटा नमूनामध्ये नौ ओटामा इ.कोली भेटिएको छ । मालिका गाउँपालिकामा आठ ओटामध्ये सात ओटामा इकोली, धवलागिरी गाउँपालिकामा तीन ओटै नमुनामा इ.कोली र अन्नपूर्णमा १८ नमुनामा तीन ओटामा इ.कोली जीवाणु भेटिएको स्वास्थ्य कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीले आयोजना गरेको चालु आर्थिक वर्षको प्रगति सार्वजनिक तथा पानीको नमुना परीक्षणको प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रममा झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमणबाट जोगिनका लागि पानीलाई शुद्धीकरण गर्नुपर्ने बेनी अस्पतालकी निमित्त मेडिकल सुपरीटेण्डेन्ट डा.अञ्जु थापाले बताउनुभयो । उहाँले ‘इ.कोलीको कारण झाडापखाला, हैजा, भाइरल ज्वरो र रुघाखोकी लगायत महामारीजन्य रोगको सङ्क्रमण हुने बताउनुभयो ।

२०७९ को चैत महिनामा पनि जिल्लाका विभिन्न स्थानको पिउने पानीको नमुना संकलन गरेर परीक्षण गर्दा पनि हालको जस्तै नतीजा आएको भए पनि त्यसलाई सुधारका लागि कुनै पहल नभएकोले नमुना परीक्षण सिवाय अन्य कुनै कामै नभएको हो कि भन्ने प्रश्न सञ्चारकर्मीले उठाएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो ।


अमृतप्रसाद पौडेल