मौलापुरमा झडप, सात प्रहरीसहित १२ जना घाइते

  ०७८ असार ११ गते

मौलापुरमा प्रहरी र प्रर्दशनकारी बिच असार १० गते भएको झडपमा सात प्रहरीसहित १२ जना घाइते भएका छन् ।

मौलापुर नगरपालिकाकी प्रमुख रिनाकुमारी साहको अध्यक्षतामा एवम् पूर्वमन्त्री प्रभु साहको उपस्थितिमा भएको पाचौँ नगर सभा रोक्नुपर्ने माग गर्दै कांग्रेस, नेकपा एमाले माधव नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह लगायतको विपक्षी गठबन्धनले मौलापुर चौकमा विरोध प्रदर्शन गरेका थिए ।

सो समूहलाई रोक्न गएका नेता साहका समर्थक र प्रर्दशनकारीबिच दोहोरा झडप भएपछि झडप नियन्त्रणमा लिन प्रहरीले १४ राउण्ड हवाई फायर तथा २३ राउण्ड अश्रु ग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत श्रेष्ठले बताउनु भयो ।

झडपमा एक जना सशस्त्र प्रहरी जवान, ६ जना जनपथ प्रहरी र पाँच जना स्थानीयसहित १२ जना घाइते भएको डिएसपी श्रेष्ठले जानकारी दिनु भयो ।

घाइते हुुनेहरूमा जिल्ला प्रहरी कार्यालय गौरका ४५ वर्षीय असई कमल कार्की, इलाका प्रहरी कार्यालय मौलापुरका ३७ वर्षीय हवल्दार रामनरेश चडनौ, ३६ वर्षीय मनोज राउत, जवान २९ वर्षीय कमलेस यादव, २४ वर्षीय दिनेश ठाकुर, ४० वर्षीय हवल्दार कृष्ण पण्डित, सशस्त्र प्रहरीका ४० वर्षीय जवान रामपृत यादव रहेका छन् ।

त्यसैगरी प्रदर्शनकारीहरूतर्फ मौलापुर नपा–६ का ३२ वर्षीय विवेक यादव, मौलापुर नपा–५ का २७ वर्षीय ठागा बैठा, सोही ठाउँका ४५ वर्षीय राजेन्द्र मली, ३५ वर्षीय रामदेश बैठा र ३७ वर्षीय सुवोध यादव घाइते भएको डिएसपी श्रेष्ठले बताउनु भयो ।

घाइतेहरूको उपचार मौलापुरस्थित गढीमाई र नमस्ते क्लिनिकमा गरिएको इलाका प्रहरी कार्यालय मौलापुरका इन्स्पेक्टर राकेश यादवले बताउनु भयो ।

प्रहरीलाई लक्षित गरी प्रर्दशनकारीले ढुङ्गामुढा तथा बोतलहरू प्रहार गरेको इन्स्पेक्टर यादवले बताउनु भएको छ ।

मौलापुर नगरपालिकामा आर्थिक अनियमितता भएकाले आफूहरूले हिसाबकिताव पारदर्शी बनाउनुपर्ने माग गरेपनि वास्ता नगरेपछि विरोधमा उत्रिनु परेको माओवादी केन्द्रका नेता विश्देश्वर यादवले बताउनु भयो ।


कोपिला तिमल्सिना