मौन अवधि सुरू, प्रचार सामग्री हटाइएन

असार १४ गते हुने स्थानीय तहको निर्वाचनको लागि मौन अवधिमा कुनै पनि दल, उम्मेदवार, कार्यकर्ता तथा सञ्चार माध्यमले चुनावी प्रचारप्रसारलगायतका मतदातालाई प्रभावित पार्ने निर्वाचन प्रचार सामग्री हटाउनुपर्ने उल्लेख भएपनि दार्चुलामा राजनीतिक दलहरूले प्रचार प्रसारको लागि राखेका व्यानर, प्रचार पम्पलेटलगायत प्रचार सामाग्री अझै हटाइएको छैन ।

मौन अवधि सुरू भएपछि मतदानस्थलको ३ सय मिटर वरपर रहेका प्रचार सामग्री हटाउनुपर्ने व्यवस्था छ । तर, सदरमुकाम खलङ्गालगायत नौ ओटै स्थानीय तहका मतदान केन्द्र वरिपरी राखिएका निर्वाचन प्रचार सामग्री हटाइएको छैन । रङ्गीन पोष्टर तथा ठूला व्यानरले अझै मतदान केन्द्र वरिपरी झकीझकाउ देखिएको छ ।

अहिलेपनि राजनीतिक दलका नेता कार्यकर्ताले चुनाव चिन्ह अङ्कित पहिरन लगाएको देखिने गरेको छ । मौन अवधिमा एसएमएस, फेसबुक, ट्वीटरलगायत सामाजिक सञ्जालमा पनि प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले स्पष्ट पारेको छ । अनुगमनमा आचारसंहिता उल्लङ्घन भएको भेटिए १ लाख रुपियाँसम्म जरिबाना र उम्मेदवारी नै रद्द समेत हुनसक्ने निर्वाचन आयोगले जनाएको छ ।


नरेन्द्रसिह कार्की