मौन अवधिमा सहमति विपरीतका गतिविधि

  ०७६ मङ्सिर १३ गते

निर्वाचन आयोग ऐन, २०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले निर्वाचन आचार–संहिता २०७२ जारी गरेको छ ।

त्यसैगरी निर्वाचन आयोग ऐन, ०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले स्थानीय तह निर्वाचन आचार–संहिता, ०७३ जारी गरेको छ ।

आचार–संहिताको परिच्छेद २ मा उम्मेदवार, राजीतिक दल तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणसम्बन्धी व्यवस्था छ । सोही व्यवस्था बमोजिम निर्वाचनमा सहभागी दल तथा व्यक्तिले सामान्य आचरण मान्नु पर्छ ।

तर, मङ्सिर १४ गते हुने उप–निर्वाचनका लागि गत कात्तिक २७ गते स्थानीय तहमा उम्मेदवारी दर्ता गराएका दलका प्रतिनिधि तथा उम्मेदवारहरूले आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ ।

साकेला गाँउपालिकामा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुनु ४८ घण्टा अघि मौन अवधि सुरू भएसँगै आचारसंहिता विपरीतका कार्य भएको पाइएको हो ।

राजनीतिक दलका उम्मेदवार आफैँले सर्वदलीय बैठक बसी आचारसंहिता मान्ने सम्झौता गरेपनि सम्झौता विपरीतका गतिविधि भएको पाइएको हो ।

साकेला गाउँपालिका–३ खिदिमाको रिक्त वडाध्यक्ष पदका लागि हुन गइरहेको निर्वाचनको मौन अवधिमा काङ्ग्रेसले समझदारी विपरीतका गतिविधि गरेको नेपाल कम्युनिष्ट पार्टीले आरोप लगाएको छ ।

मौन अवधि सुरू भएपछि ‘सम्बन्धित वडाका मतदाता नामावली भएका नेता तथा कार्यकर्ता बाहेक जिल्ला तथा केन्द्रीय तहका नेताहरू खिदिमा नजाने’ सहमति भएपनि उक्त सहमति कांग्रेस नेताबाट उल्लङ्घन भएको नेकपा खोटाङका सचिव रामप्रसाद दङ्गालले बताउनु भयो  ।

सर्वदलीय सहमति विपरीत मङ्सिर १२ गते राति कांग्रेसका नेता सुवासकुमार पोखरेल, तीर्थराज भट्टराई लगायतका नेता खिदिमा पुगेको नेकपाको आरोप छ ।

कांग्रेसकै प्रस्तावमा मौन अवधि सुरू भएपछि कोही पनि नेता खिदिमा नजाने सहमति गरिएको नेकपाका नेता दङ्गालको भनाइ छ ।

मङ्सिर ८ गते मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको संयोजकत्वमा बसेको सर्वदलीय बैठकमा मौन अवधि सुरू भएपछि सम्बन्धित वडाका नेता तथा कार्यकर्ता बाहेक अन्य नेता खिदिमा नजाने सहमति भएको थियो ।

मौन अवधिको प्रचार–प्रसारका विषयमा भएको समझदारीलाई कांग्रेसले उल्लङ्घन गरेको भन्दै नेकपाले प्रश्न उठाएपछि राति झडप हुने अवस्था आएको र प्रहरी परिचालन गरेर स्थिति सामान्य पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताउनु भयो ।

लगत्तै नेकपा नेता प्रकाश चौंलागाई लगायतका नेकपाका कार्यकर्ता र खिदिमाका वडा सदस्य जीवन श्रेष्ठ (जगबहादुर श्रेष्ठ)बीच गरिएको कागजातमा भने ‘अवाञ्छनीय गतिविधिका क्रममा कांग्रेस नेता तथा कार्यकर्ता गिरफ्तार गरेको र आवश्यक पर्दा निर्वाचन आयोगमा उपस्थित गराउने’ उल्लेख छ ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय मानेभञ्ज्याङका इन्स्पेक्टर शम्भु पौड्यालको रोहवरमा एक कबुलियतनामा पत्र तयार गरी हस्ताक्षर गरिएको छ ।

कांग्रेस नेता पोखरेलले माननीय, गाउँपालिका अध्यक्ष नै हिँडिरहेको देखेपछि आफूहरू पनि आफ्नो उम्मेदवारको घरमा आलु खान गएको बताउनुभयो ।

नेकपाका कार्यकर्ता योजनाबद्ध लागेको बताउँदै पोखरेलले कुनै अप्रिय घटना होला भनेर आफूहरू एरिया छोडेर हिँडेको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत आचार्यले भने घटनाको विषयमा औपचारिक जानकारी नभएको बताउनु भएको  छ ।


रामधन राई