मौन अवधिमा प्रचार–प्रसार गरेको भन्दै उम्मेदवारको विरोध

मौन अवधिमा चुनावी प्रचार–प्रसार गर्दै कार्यकर्ता भेला गराएको आरोपमा मङ्सिर २० गते इलाम निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधिसभाका नेपाली काङ्ग्रेस उम्मेदवार केशव थापाको विरोध भएको छ ।

इलाम नगरपालिका– ८ को सिङफ्रिङ गाउँ पुगेर फर्किंदै गरेका उम्मेदवार थापा र इलाम नगरपालिका–७ का वडाध्यक्ष नरेश श्रेष्ठसहितलाई स्थानीय युवाले करिब २० मिनेट बाटो छेकेर विरोध जनाएको इलामका डिएसपी रमेश बस्नेतले जानकारी दिए ।

‘घटनास्थल पुगेर थापालाई हामीले बाटो खुला गरायौं,’ डिएसपी बस्नेतले भने, ‘दुवै पक्षलाई राखेर छलफल गरौँ भनेर सम्झाएपछि युवाले बाटो खोलिदिए ।’ डिएसपी बस्नेतले मौन अवधिमा उम्मेदवारको सुरक्षाका लागि पनि आफूहरूले पनि बाहिर नहिड्न अनुरोध गरिरहेको बताए । उम्मेदवार थापाले भने आफू बिरामी हेर्न गाउँ गएको दाबी गएको बताए । ‘बिरामी हेरेर फर्किंदै थियौं, युवाले बाटामा एकछिन एसोउसो गरे नि !’ थापाले भने ।


कोकिला ढकाल