मोर्चाका कार्यकर्ताद्वारा बन्द, प्रदर्शन र तोडफोड, एमाले समर्थकहरूलाई सामाजिक बहिष्कारको आह्वान
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीको फागुन २४ गते बसेको बैठकले नेकपा (एमाले) का समर्थकहरूलाई सप्तरी जिल्लामा सामाजिक बहिष्कार गर्न आह्वान गरेको छ ।
इन्सेक सप्तरी जिल्ला प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लाका सम्पूर्ण पक्षलाई सङ्घर्षमा सहयोग गर्न आह्वान गर्दै मोर्चाले अनिश्चितकालीन आमहड्ताल गर्ने निर्णय गरेको छ ।
मोर्चाका संयोजक दिनेशकुमार यादवको अध्यक्षतामा बसेको वैठकले प्रहरीको गोलीबाट मारिएका तीनै जनालाई सहिद घोषणा, परिवारलाई राहत तथा पीडित परिवारका एक जना सदस्यलाई सरकारी जागिर दिनुपर्ने माग गरेको छ ।
मोर्चाले उच्चस्तरीय समावेशी न्यायिक छानबिन आयोग गठन गरी सो आयोगमार्फत घटनाको छानबिन गरी दोषीहरूमाथि कडा कारबाही गर्नुपर्ने, सप्तरीका सिडिओ, नेपाल प्रहरीका एसपी र डिएसपी, सशस्त्र प्रहरीका एसपीको निलम्बन गर्नुपर्ने माग गरेको छ ।
राज्यले घाइतेहरूको तत्कालै उपचारको व्यवस्था मिलाउनुपर्ने, औद्योगिक क्षेत्रमा राजनीतिक कार्यक्रम आयोजना गर्न अनुमति दिनेमाथि कारबाही गर्न माग गर्दै मोर्चाले परिमार्जनसहितको संविधान संशोधन प्रस्ताव पारित गर्न माग गरेको छ ।
हिजोको घटनाको विरोध गर्दै कानुन व्यावसायीहरूले फागुन २४ गते दिउँसो राजविराजमा मौन जुलुस प्रदर्शन गरेका छन् । जनकपुर उच्च अदालत राजविराज इजलास बार एसोसिएसन तथा सप्तरी जिल्ला बार इकाइले नगरको परिक्रमा गर्दै मौन जुलुस निकालेको हो ।
नेकपा (एमाले) को मेची महाकाली अभियानलाई विथोल्ने क्रममा फागुन २३ गते अपरान्ह प्रहरीसँगको झडपमा गोली लागेर मोर्चाका तीन जना प्रदर्शनकारीको मृत्यु भएको थियो । गोली लागेर प्रस्वनी गाविस-७ घर भएका सप्तरी जिल्ला बार इकाइका कोषाध्यक्ष दिगम्बर यादवसमेत गम्भीर घाइते भएका छन् । घाइते यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ
इन्सेक सिरहा जिल्ला प्रतिनिधि दुर्गा परियारका अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले फागुन २४ गते लहान नपा-१ स्थित नेकपा (एमाले) को क्षेत्रीय कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयमा रहेका फर्निचरलगायतका भौतिक सामग्रीमा आगजनी गरेका छन् ।
मोर्चाका नेता तथा कार्यकर्ताहरूले एमालेको पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै सम्पूर्ण सामानहरू सडकमा ल्याएर आगजनी गरेको मोर्चाका नेता कृष्णबहादुर यादवले बताए ।
त्यसैगरि मोर्चाका कार्यकर्ताहरूले जिल्लाको विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गर्नुका साथै विद्यालय, बजार, पसलहरूसमेत जबरजस्ती बन्द गराई जनजीवन ठप्प पारेका छन् ।
आगजनी र तोडफोड गर्नुका साथै जर्वजस्ती बन्द गराउँदै हिडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले मोर्चाका १३ जना स्थानीय नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।
गिरफ्तार हुनेहरूमा कृष्णबहादुर यादव, मनोजकुमार यादव, उमेशकुमार महतो, रोशन यादव, बैधनाथ प्रसाद साह, राजु गुप्ता, सत्यनारायण यादव, दिनेश यादव, दिलिपकुमार यादव, विजय यादव, आलोक यादव, मोहम्मद गुलाब राईन र परियाग यादवलगायत छन् ।
त्यसैगरि मोर्चाका कार्यकर्ताहरूले फागुन २३ गते राति गोलबजार नपा-६ मा जन्तिको चढेको बसमा समेत तोडफोड गर्नुका साथै धनगढीमाई नपाका ५३ वर्षीय चालक महेन्द्र साह तेलीलाई कुटपिट गरेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर राजेन्द्रकुमार उपाध्यायले बताए । मोर्चाका कार्यकर्ताहरूले लहान र गोलबजारमा गरी दुईवटा मालबाहक ट्रकमासमेत आगजनी गरेका छन् ।
यसैबिच सिरहास्थित मानव अधिकार सञ्जाल र जिल्लामा कार्यरत मानव अधिकारको क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूले फागुन २४ गते एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीको राजविराजमा भएको भिडन्तपछि प्रहरीको गोली लागि तीन जनाको ज्यान गएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको समावेशी सहितको उच्चस्तरीय छानबिन टोली गठन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।
इन्सेक बारा जिल्ला प्रतिनिधि लक्ष्मी साहसोनारका अनुसार सप्तरी घटनाको विरोधमा गरिएको बन्दका कारण बाराको जनजीवन प्रभावित भयो । मोर्चाका कार्यकर्ताहरूले दिनभर कलैयालगायतका ठाउँमा प्रदर्शन गरे ।
बन्दले व्यापार, व्यवसायलगायत शैक्षिक संस्था, उद्योग, कलकारखाना, ग्रामीण तथा शहरी यातायात ठप्प रह्यो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दको पहिलो दिन फागुन २४ गते नेकपा एमालेको कलैयास्थित पार्टी कार्यालयमा आगजनी भएको छ । तर, आगजनी कसले गराएको हो सो खुलेको छैन । आन्दोलनरत संयुक्त लाकतान्त्रिक मधेसी मोर्चाले आगजनीबारे जिम्मेवारी लिएको छैन ।
भुईंतलाको बैठक कोठाको ढोका फोरेर ढोका र कोठाभित्र रहेका दराजमा आगो लगाइए पनि तत्काल प्रहरी घटनास्थल पुगेपछि क्षति हुनबाट जोगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए । आन्दोलित मोर्चाका स्थानीय नेता रामबाबुकुमार यादवले आफूहरूको निर्देशनमा आगजनी नभएको बताए ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी कपिलवस्तु आउने कार्यक्रमलाई बिथोल्न मधेसी मोर्चाले फागुन २४ गते जिल्ला बन्दको घोषणा गरी बिहानदेखि कपिलवस्तु जिल्ला सदरमुकामलगायत विभिन्न ठाउँमा टायर बालेर सडक अवरुद्ध गर्नुको साथै कालो झण्डासहित विरोध प्रदर्शन गरेका थिए ।
प्रदर्शनको क्रममा प्रहरीले सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सहशराम यादव, जिल्ला उपाध्यक्ष दिपक पाण्डे, नेता अब्दुल रसिद खाँलगायत २२ जना नेता तथा कार्यकर्तालाई जिल्ला प्रशासन तथा गौढीचोकबाट दिउँसो १ बजे गिरफ्तार गरेकोमा मानव अधिकार निगरानी समितिको पहलमा साँझ रिहा गरेको छ । बन्दका कारण जिल्लाका बजार, उद्योग धन्दा, कलकारखाना, विद्यालय भने बन्द रहेका थिए ।
इन्सेक रौतहट जिल्ला प्रतिनिधि बिपिन गौतमका अनुसार मधेसी मोर्चाको बन्दका कारण जिल्ला सदरमुकाम गौरमा बिहानैदेखि लामो तथा छोटो दूरीका सवारी साधनहरू चल्न सकेका छैनन् भने सदरमुकामका निजी तथा सरकारी विद्यालयहरू पूर्ण रूपमा बन्द भएका छन् ।
मोर्चाका कार्यकर्ताहरुले सदरमुकाम गौर लगायत जिल्लाका प्रमुख बजारहरु गरुडा, कटहरीया, मत्सरी लगायतका स्थानमा बिहानैदेखि टायर बालेर प्रदर्शन गरेपनि कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सप्तरी घटनाको विरोधमा उत्रिएका मधेसी मोर्चाका कार्यकर्ताहरूले दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा धर्ना दिए भने गौरका विभिन्न स्थानमा नेकपा एमालेको झण्डा जलाएका थिए ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश उपनिर्वाचन ०८१ः पाँच ओटा स्थानीय तह मध्ये कांग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी
सुदूरपश्चिम प्रदेशका पाँच ओटा स्थानीय तहमा ०८१ मङ्सिर १६ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक गरिएको छ । पाँच ओटा स्थानीय तहमध्ये नेपाली काग्रेसका चार र एमालेका एक जना उम्मेदवार विजयी…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा लमही नगरपालिका-५ का २४ वर्षीय राजु खानलाई प्रहरीले ०८१ मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले मङ्सिर ११ गते काम छ…