मोरङ कारागारमा १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु

  ०७८ मङ्सिर ७ गते

मोरङ कारागारमा बितेको १७ महिनामा १८ जना कैदीबन्दीको मृत्यु भएको छ ।

राज्यको नीति कारागारलाई यातना गृहबाट रूपान्तरण गरी सुधार गृह बनाउने भएपनि मोरङ कारागारमा आर्थिक वर्ष ०७७-०७८ मा ११ जना कैदीबन्दीको मृत्यु भएको छ ।

चालू आर्थिक वर्षको साउन १५ गतेदेखि मङ्सिर पहिलो सातासम्मको अवधिमा सात जनाको मृत्यु भएको कारागार प्रशासनले जनाएको छ ।

कारागार कार्यालयको तथ्याङ्कअनुसार ०७७ साउन १५ गतेदेखि ०७८ मङ्सिर पहिलो सातासम्ममा १८ जना कैदीको मृत्यु भएको छ ।

कारागारमा ०७७ साउन १५ गते मोरङको केराबारी गाउँपालिका–४ का ३४ वर्षीय रमेश मगरको मृत्यु भयो । उनी कुन मुद्दामा कैद भुक्तानका लागि कारागार आएका थिए भन्ने तथ्याङ्क भने कारागार कार्यालयसँग छैन ।

०७७ साउन १९ गते विराटनगर महानगरपालिका–१६ का विद्यानन्द मण्डलको मृत्यु भयो । उनी लागुऔषध तथा हातहतियार खरखजना मुद्दामा कैद भुक्तान गरिरहेका थिए ।

०७७ भदौ १० गते विराटनगर महानगरपालिका–४ का रामु भनिने निराजन यादवको मृत्यु भयो । लागुऔषध मुद्दामा कैद भुक्तान यादवको कारागारभित्रै मृत्यु भएको थियो ।

०७७ भदौ १३ गते सुन्दरहरैँचा नगरपालिका–५ का ध्रुबे सिंह भनिने सुवर्ण सिंह तामाङको मृत्यु भयो । उनी चोरी कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

०७७ असोज १४ गते लागुऔषध कसुरमा कैद भुक्तान गरिरहेका आशिष भनिने अशोक राईको मृत्यु भयो ।

असोज २३ मा लागुऔषध कसुरमा कैद भुक्तान गरिरहेका दीपेश महराको कारागारमा मृत्यु भएको कारागार प्रशासनको अभिलेखमा उल्लेख छ ।

०७७ असोज २९ गते ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका शिवहाङ राईको मृत्यु भयो । ०७७ कात्तिक १३ गते लागुऔषध कसुरमा कैद भुक्तान गरिरहेका केवल कार्कीको मृत्यु भयो । कात्तिक १८ गते पशुपन्छीसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका भेड भनिने सुमन दनुवारको मृत्यु भएको कारागारको तथ्याङ्कमा उल्लेख छ ।

०७७ कात्तिक ३० गते एलिस भनिने ऋषिराम भट्टराईको मृत्यु भयो । उनी आत्महत्या दुरूत्साहन सम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

०७७ मङ्सिर ६ मा  बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका महम्मद अस्लम मियाँको कारागारमा मृत्यु भयो ।

०७८ साउन ३० गते धरान उपमहानगरपालिका–८ का ३० वर्षीय सुवास लिम्बुको मृत्यु भयो । लागुऔषध कसुरमा कैद भुक्तान गरिरहेका लिम्बूको स्वास्थ्य समस्याका कारण मृत्यु भएको कारागार प्रशासनले जनायो । ०७८ भदौ १ गते मोरङको रतुवामाई नगरपालिका–५ का ५२ वर्षीय धनबहादुर गुरुङको मृत्यु भयो ।

०७८ भदौ १० मा सुनसरी रामधुनी नगरपालिका–२ का २० वर्षीय सोम परियारको मृत्यु भयो । उनी बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

भदौ २४ मा मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का ६० वर्षीय भीमलाल सुब्बाको मृत्यु भयो । बलात्कार मुद्दामा कैद भुक्तान गरिरहेका सुब्बाको  मृत्यु भएको कारागार प्रशासनको अभिलेखमा उल्लेख छ ।

०७८ कात्तिक २५ गते सुनसरी, इटहरी उपमहानगरपालिकाका ४३ वर्षीय नारायाण थापाको मृत्यु भयो । उनी बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

विराटनगर महानगरपालिका–१० का ६३ वर्षीय गोपाल शर्माको ०७८ मङ्सिर ४ गते कारागारमा मृत्यु भयो । उनी बलात्कार कसुरमा कैद भुक्तान गरिरहेका थिए ।

प्रदेश २ को सप्तरीबाट उपचार गर्न ल्याइएका महम्मद युसुपको ०७८ मा  मोरङ कारागारमा मृत्यु भएको भयो । बैङ्कसम्बन्धी कसुरमा कैद भुक्तान गरिरहेका उनलाई उपचारको लागि सप्तरीबाट ल्याइएको मोरङ कारागारको अभिलेखमा उल्लेख छ ।

१७ महिनाको अवधिमा १८ जना कैदीबन्दीको मृत्यु भएको भए पनि के कति कारणले कैद भुक्तान गरीरहेकाहरूको मृत्यु भएको हो, सो को विवरण खुलाइएको छैन ।

के कारणले कैदीको मृत्यु भयो थाहा हुँदैनः

कारागारमा कैद भुक्तान गरिरहेका कैदीको मृत्यु के कति कारणले भयो भन्ने थाहा नै हुँदैन । मोरङ कारागारमा मृत्यु भएका एकाध कैदीबन्दी बाहेक अधिकांशको पोष्टमार्टमसमेत भएको छैन ।

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलले भन्नुभयो ‘आफन्तले गर्न चाहेको अवस्थामा पोष्टमार्टम हुन्छ, तर परिवारले निवेदन समेत दिँदैनन, अहिलेसम्म मृत्यु भएका एकाध कैदीबन्दीको मात्र पोष्टमार्टम भएको छ, त्यसैले के कति कारणले कैदीबन्दीको मृत्यु भयो, त्यसको जानकारी छैन ।’

कारागारमा चौकीदारले कैदीबन्दीलाई यातना दिएका तथ्यहरू बेला बेला बाहिर आउने गरेका छन् । कैदीले चौकीदारले मागेको रकम नदिएमा रातभरि यातना दिने र कुटपिट गर्ने सम्मका घटना कारागारमा हुने गरेको कैद भुक्तान गरी बाहिर आएका विराटनगर महानगरपालिका–४ का ३० वर्षीय अमर पासवानले बताउनु भयो ।

कारागारभित्र मृत्यु भएका कैदीको पोष्टमार्टम नगर्दा उनीहरूको मृत्यु के कारणले भयो भन्ने थाहा नभएको कारागार प्रशासनको भनाइ छ । मृत्यु भएका कैदीबन्दीका आफन्तले कारागार प्रशासनलाई दबाब नदिएसम्म पोष्टमार्टम हुने गरेको छैन ।

कारागारका निमित्त जेलर पोखरेलले भन्नुभयो– आफन्तले नै अहिलेसम्म पोष्टमार्टम गर्छाँ भनेर नभनेका कारण मृत्यु भएका कैदीको पोष्टमार्टम हुन सकेको छैन ।

कारागारभित्र चौकीदारले कैदीलाई चरम यातना दिने र कुटपिट गर्नेसम्मका घटना हुने गरेको भएपनि सो कुरालाई आफूलाई जानकारीमा नआएको पोखरेलले बताउनु भयो । उहाँले भन्नुभयो ‘अनुशासनमा राख्न डर देखाएको हुनसक्छ, तर यातना दिने, कुटपिट गर्नेजस्ता घटना कारागाभित्र हुँदैनन् ।’


इन्सेक प्रदेश १, कार्यालय विराटनगर