मोरङ कारागारमा कैदीबन्दीबिच झडप, ६ जना घाइते

  ०७८ कात्तिक २३ गते

जिल्ला कारागार मोरङका चौकीदार किरण गुरुङले उनका समूह बाहेकका कैदी तथा बन्दीलाई यातना दिएको आरोपमा कारागारका कैदीबन्दीबिच कात्तिक २३ गते झडप भएको कारागार प्रशासनले जनाएको छ ।

झडपमा परी ६ जना कैदीबन्दी घाइते भएको र उनीहरूको उपचार कोशी अस्पतालमा गरिएको कारागार निमित्त जेलर रामप्रसाद पोखरेलले बताउनु भयो ।

झडपमा परी चौकीदार किरण गुरुङ, कैदी तथा बन्दी शेखर राई, निर्मल ढकाल, विशाल मोक्तान, डिल्ली देवान र सूर्यदीप गुप्ता सामान्य घाइते भएको जेलर पोखरेलले बताउनु भयो ।

कारागारका चौकीदार र नाइकेको समूहसँग अरू कैदीबन्दीको झडप भएको कारागार प्रशासनले जनाएको छ ।

निमित्त जेलर पोखरेलले घटनाका बारेमा थप बुझ्ने प्रयास भइरहेको र चौकीदारको समूहविरूद्ध अरू कैदीबन्दी आन्दोलित भएको बताउनु भयो ।

चौकीदार किरण गुरुङको निर्देशनमा कारागारका नाइके र भाइ नाइकेहरूले कुटपिट गर्ने तथा यातना दिने एवम् अत्याचार गर्ने गरेको भन्दै अरू कैदीबन्दी आन्दोलित भएपछि झडपको भएको कारागार प्रशासनले जनाएको छ ।

आन्दोलित कैदीबन्दीले चौकीदार गुरुङसहित १४ जना कैदीबन्दीलाई कारागारभित्रकै एउटा कोठामा बिहान १० बजेदेखि केही बेर थुनेर राखि दिएको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीले चौकीदार गुरूङ, नाइके र भाइनाइकेसहित पदमकुमार लिम्बू, निर्मल ढकाल, रामकुमार राई, रमेश मण्डल, शेखर राई, विशाल मोक्तान, डिल्ली देवान, रोशन दाहाल, सूर्यदीप गुप्ता, कपिल साह, एलएस नेपाली, राजु राई, बविहाङ राईलाई एउटा कोठामा थुनेर राखेको निमित्त जेलर पोखरेलले बताउनु भयो ।

कोठामा थुनेर राखिएका कैदीबन्दीलाई प्रहरीले कारागारबाट बाहिर निकालेपछि कारागारमा तनावको अवस्था अन्त्य भएको कारागार प्रशासनले जनाएको छ ।

कैदीबन्दीको सुरक्षा र कारागारमा उत्पन्न तनाव अन्त्यका लागि १४ जनालाई नै अरू कारागारमा स्थानान्तरणको तयारी भइरहेको निमित्त जेलर पोखरेलले बताउनु भयो ।

झडपका कारण उत्पन्न असामान्य परिस्थितिलाई नियन्त्रणमा लिन कारागार आसपासमा प्रहरी परिचालन बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले बताउनु भएको छ ।


अर्जुन दर्जी