मोरङ कारागारका एक थुनुवाको रहस्यमय मृत्यु, हत्याको आशङ्का

  ०८० मङ्सिर २४ गते

लेटाङ नगरपालिका-४ का ४० वर्षीय केशरबहादुर भुजेलको जिल्ला कारागारमा पुर्पक्षमा रहेको बेला रहस्यमय मृत्यु भएको छ । पीडित पक्षले कुटपिटका कारण भुजेलको मृत्यु भएको आरोप लगाएको छ । कारागार प्रशासनले बिरामी भएका भुजेललको उपचारका क्रममा कोशी अस्पतालमा ०८० मङ्सिर २१ गते मृत्यु भएको जानकारी दिएको छ ।

मामाको मृत्यु कुटपिटका कारण भएको हो, मृतककी भाञ्जी एलिना भुजेलले भन्नु भयो । मङ्सिर १६ गते मामाको जन्मदिन थियो, म मामा भेट्नलाई कारागार आएको थिएँ, मामाले सबै राम्रो छ भन्नुभएको थियो, मङ्सिर २१ गते कारागारबाट एक्कासी केशरबहादुरको उपचारका क्रममा मृत्यु भएको खबर आयो, बिरामी भएको खबर आएन मृत्युपछि मात्र खबर आयो, त्यसैले मृत्यु शङ्कास्पद र रहस्यमय छ ।

मृतकको लास कोशी अस्पतालमा शव गृहमा राखिएको र लास हेर्न खोज्दा नदिएपछि मृत्यु नभई हत्या भएको पीडित परिवारको आरोप छ ।

मृतककी पत्नी रामकुमार भुजेलले पतिको मृत्यु नभई हत्या भएको हुन सक्ने बताउनु भयो । उहाँले भन्नुभयो, यदि पति बिरामी भएको भएँ, बिरामी भएको खबर दिनुपर्ने थियो, तर मृत्यु भएपछिमात्र हामीलाई खबर दिइयो, लास हेर्न खोज्दा दिइएन, त्यसैले मृत्यु नभई हत्या भएको हुन सक्छ ।

पीडित परिवारले लास बुझ्न अवीस्कार गरेपछि मङ्सिर २१ गतेदेखियता लास कोशी अस्पतालको शव गृहमा राखिएको छ । पीडित पक्षले न्यायिक छानविन समिति गठनपछि मात्र शव बुझ्ने भएको छ ।

कारागारका जेलर कृष्णहरि न्यौपानेले भुजेलको उपचारको क्रममा मृत्यु भएको बताउनु भयो । ‘साहृै पेट दुख्ने र बान्ता गरेपछि हामीले तत्काल हस्पिटल लिएर गएका थियौं । उपचारको क्रममा मृत्यु भएको हो,’ न्यौपानेले भन्नुभयो ‘एक पटक मृतकका भाञ्जीलाई शव देखाएको पनि हो । परिवारका सदस्य आए प्रहरीको रोहबरमा देखाउन सकिन्छ । त्यसको लागि मोरङ प्रहरीसँग समन्य गरिनेछ ।’ कारागारबाट कुनै पनि लापरवाही भएको छैन् ।

बलात्कार मुद्दामा ०८० कात्तिक ६ गते गिरफ्तारीमा परेका भुजेल जिल्ला अदालतको आदेशमा कात्तिक २१ गते पुर्पक्षका लागि मोरङ कारागारमा थिए । मोरङ कारागारमा १० दिन (१, ११ र २१ गते) भित्र कारागार भित्रको खानपिन गरेको हिसाब (बन्डा) नमिलाए कैदीबन्दीहरूलाई चौकीदार र उनको निर्देशनमा नाइके, भाइ नाइकेहरूले यातना दिने गरेको आरोप छ ।


विनोद सुवेदी