मोरङमा आचारसंहिता उल्लङ्घनका तीन घटना

निर्वाचन नजिकिएसँगै मोरङमा निर्वाचन आचारसंहिता उल्लङघनका तीन ओटा उजुरी परेका छन् ।  क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरमा हालसम्म तीन ओटा उजुरी परेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले बताए ।

मोरङको क्षेत्र नम्बर १ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका डिगबहादुर लिम्बूले आफ्नो क्षेत्र भित्र पर्ने साविक रमिते खोला गाविसमा सोलार प्यानल बाँडेर आचारसंहिता उल्लङ्घन गरेको भन्दै उजुरी परेको हो ।

सोलार प्यानल बाँडेको विषयमा जिल्ला समन्वय समितिका शाखा अधिकृतसमेत गएको भन्ने उजुरी परेकोले उनलाई पनि सचेतपत्र पठाइएको र जिल्ला समन्वय समितिलाई समेत ध्यानाकर्षण गराएको प्रमुख सञ्जेलले बताए ।

त्यसैगरी मोरङको क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेद्वार भएका सुनिल शर्माविरूद्ध पनि निर्वाचन कार्यालयमा उजुरी परेको छ । शर्माले सो क्षेत्र भित्र आचारसंहिता विपरीत स्वास्थ्य शिविर सञ्चालन गरेर मतदातालाई प्रभाव पारेको भन्दै उजुरी परेको हो । शर्माविरूद्ध क्षेत्र नम्बर ३ मा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका भानुभक्त ढकालले पनि जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका थिए ।

यस्तै विराटनगरस्थित ग्रामीण विकास बैङ्क क्षेत्रीय कार्यालय र मातहतका सात जना कर्मचारीहरूलाई पनि आचारसंहिता विपरीत सरूवा गरेको भन्दै उजुरी परेकोसमेत प्रमुख सञ्जेलले बताए ।

परेका उजुरीका विषयमा सम्बन्धित पार्टी तथा संस्थालाई सचेत गराइएको र निर्वाचन आयोगमा समेत जानकारी पठाएको सञ्जेलले बताएका छन । उनले आचारसंहिता विपरीत काम गरे पहिले सचेत गराउने र कारबाही समेत गर्ने बताए ।


इन्दिरा भट्टराई