मोतीपुर घटनामा घाइते भएका चार प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौँ लगियो

  ०७८ असोज २५ गते

बुटवल उपमहानपा–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा असोज २४ गते भएको घटनामा परी घाइते भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका चार जना जवानलाई थप उपचारका लागि काठमाडौँ लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी मनोज केसीका अनुसार काठमाडौँ लगिएकोमा नेपाल प्रहरीका दुई जना र सशस्त्र प्रहरीका दुई जना रहेका छन ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत प्रहरी जवान २८ वर्षीय जयप्रकाश थारु र दङ्गा नियन्त्रण प्रहरी बल सुनवलमा कार्यरत प्रहरी जवान गेहराज पुन मगरलाई थप उपचारका लागि असोज २५ गते हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको हो ।

सशस्त्र प्रहरी २८ नं.गण कपिलवस्तुमा कार्यरत प्रहरी हवल्दार ३५ वर्षीय खुसीराम चौधरी र ३३ वर्षीय प्रहरी जवान तिलकबहादुर धामीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको सशस्त्र प्रहरी २७ नं.गण रुपन्देहीका डिएसपी निरकार शुक्लाले फोनमार्फत बताउनुभयो ।

मोतिपुरमा स्थानीय र प्रहरीबिच भएको झडपमा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ५६ जना सुरक्षाकर्मी घाइते भएकामा नेपाल प्रहरीका ३३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी मनोज केसीले बताउनुभयो ।

घाइतेमध्ये दुई जनालाई काठमाडौँ पठाइएको, सात जना भैरहवा मेडिकल कलेजमा उपचाररत रहेको र अन्यको उपचारपछि डिस्चार्ज भएको एसपी केसीले बताउनुभयो ।

सशस्त्र प्रहरीका २३ जना घाइते भएकामा दुई जनालाई काठमाडौँ रिफर गरिएको र अरु सबै उपचारपछि डिस्चार्ज भएको डिएसपी शुक्लाले बताउनुभयो ।

हेलिकप्टरबाट काठमाडौँ रिफर गरिएका चार जनाको नेपाल एपिएफ अस्पताल बलम्बु काठमाडौँमा उपचार भइरहेको प्रहरीले जनायो ।

यस्तै घटनामा परी १८ जना प्रदर्शनकारी घाइते भएका र चार जनाको मृत्यु भएको छ । मृत्यु भएका तीन जनाको सनाखत असोज २५ गते दिउँसोसम्म हुन सकेको छैन ।

असोज २४ गते घाइतेलाई लिन गएको सुरक्षित यात्रा नेपालद्वारा सञ्चालित लु २ च ७३५५ नम्बरको एम्बुलेन्स प्रदर्शनकारीले तोडफोड गरेका छन् ।


रीमा बिसी