मोतिपुरमा मृत्यु भएका थप दुई जनाको सनाखत, अझै एक जनाको सनाखत हुन सकेन

  ०७८ असोज २६ गते

बुटवल मोतिपुरको औद्योगिक क्षेत्रमा असोज २४ गते भएको झडपको घटनामा परी मृत्यु भएका थप २ जनाको सनाखत भएको छ भने अझै एक जनाको परिचय खुल्न बाँकी रहेको छ ।

पहिचान हुनेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी पूर्व स्थायी घर भइ हाल तिलोत्तमा नपा, शङ्करनगर बस्ने १८ वर्षीय युजन कुमाल रहेको प्रहरीले जनाएको छ ।

मृतकमध्ये अझै एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी मनोज केसीले फोनमार्फत बताउनुभयो ।

झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का ४८ वर्षीय रमेश परियारको असोज २४ गते नै सनाखत भएको थियो ।

मोतिपुर औद्योगिक करिडोरको जग्गा कब्जा गरी बसेका स्थानीय र सुरक्षाकर्मीबिच असोज २४ गते दोहोरो झडप हुँदा चार जनाको मृत्यु भएको थियो भने ७४ जना घाइते भएका थिए ।

झडपमा परी गम्भीर घाइते भएका चार जना प्रहरीलाई भने थप उपचारका लागि असोज २४ गते हेलिकप्टरबाट काठमाडौँ लगिएको छ ।

त्यसैगरी मोतिपुरमा भएको झडपका क्रममा मृत्यु भएका प्रत्येक परिवारलाई लुम्बिनी प्रदेश सरकारले एक १ लाख रुपियाँ दिने भएको छ ।

असोज २५ गते बसेको सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले झडपमा परी मृत्यु भएका परिवारलाई जनही १/१ लाख रुपियाँ दिने घोषणा गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह बिकले फोनमार्फत बताउनुभयो ।

असोज २४ गते मोतिपुर औद्योगिक करिडोरको जग्गा कब्जा गरेका स्थानीय र सुरक्षाकर्मीबिच झडप हुँदा चार जनाको मृत्यु भएको थियो भने ७४ जना घाइते भएका थिए ।

त्यसैगरी झडपमा परी घाइते भएका प्रहरी र प्रदर्शनकारीहरू सबैको स्वास्थ्य उपचारको जिम्मा लुम्बिनी प्रदेश सरकारले लिने भएको छ ।

मुख्यमन्त्री केसीले मोतिपुरका वास्ताविक सुकम्बासीको समस्या हल गर्नका लागि सुकुम्बासी समस्या सामाधान सुझाव कार्यदल निर्माण गर्नका लागि रुपेन्देहीको प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको सल्लाहकार बिकले बताउनुभयो ।

असोज २५ गते सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समस्या सामाधान सुझाव कार्यदलमा सुरक्षा निकायका प्रमुख, मालपोत कार्यालय रुपेन्देहीको प्रतिनिधि, नापी कार्यालय रुपेन्देही प्रतिनिधि, औद्योगिक ग्राम रुपेन्देहीको प्रतिनिधि भूमिहिनका प्रतिनिधि लगायतको टोलीले सम्मिलित एक कार्यदल गठनका लागि प्रमुख जिल्ला अधिकारीलाई जिम्मेवारी प्रदान गरिएको हो ।


रीमा बिसी