मोतिपुरमा मृत्यु भएका सबैको सनाखत, कर्फ्यू हट्यो निषेध आदेश जारी

  ०७८ असोज २७ गते

बुटवल मोतिपुरको औद्योगिक क्षेत्रमा असोज २४ गते भएको झडपको घटनामा परी मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका–१० का ४८ वर्षीय रमेश परियार, शुद्धोधन गाउँपालिका–५ का ३८ वर्षीय वीरेन्द्रप्रसाद कुर्मी, नवलपरासी पूर्व स्थायी घर भइ हाल तिलोत्तमा नपा, शङ्करनगर बस्ने १८ वर्षीय युजन कुमाल र पश्चिम नवलपरासी सरावल गाउँपालिका-३ का ४२ वर्षीय केशनारायण केवट रहेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनु भयो ।

मोतिपुर औद्योगिक करिडोरको जग्गा कब्जा गरी बसेका स्थानीय र सुरक्षाकर्मीबिच असोज २४ गते दोहोरो झडप हुँदा चार जनाको मृत्यु भएको थियो भने ७४ जना घाइते भएका थिए ।

मोतिपुरमा भएको झडपका क्रममा मृत्यु भएका प्रत्येक परिवारलाई लुम्बिनी प्रदेश सरकारले १ लाख रुपियाँ दिने भएको छ । त्यसैगरी मृत्यु भएका प्रत्येक परिवारलाई ५/५ लाख रुपियाँ उपलब्ध गराउन नेपाल सरकार समक्ष रुपन्देहीको सर्वदलीय बैठकले सिफारिस गरेको छ ।

मृत्यु भएका प्रत्येक परिवारलाई काजक्रिया खर्चबापत ५०/५० हजार रुपियाँ जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराइसकेको र सबै जनाको शव आफन्तले बुझी लगेको प्रजिअ तिवारीले बताउनु भयो ।

अवस्था तनावपूर्ण बनेपछि लगाइएको कर्फ्यू हटाएर अर्को सूचना जारी नभएसम्मका लागि निषेध आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


रीमा बिसी