मोटरसाइकल चोरेको शङ्कामा कुटपिट तथा अमानवीय व्यवहार

  ०७९ असार २७ गते

औरही नगरपालिका–६ वैरीया टोलमा चोरीको शङ्कामा एक परिवारको आमा र छोरालाई स्थानीय केही व्यक्तिहरुले कुटपिट तथा अमानवीय व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

वैरीया टोलका आमा र छोरालाई डोरीले हात बाँधेर, घिसार्दै र कुटपिट गर्दै एक घरमा तीन घण्टासम्म बन्धक बनाएर राखेको अवस्थामा प्रहरीले असार २४ गते उद्धार गरेको हो ।

घटनाबारे जानकारी पाए लगतै घटनास्थलमा गएर आमा र छोरालाई उद्धार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई आदित्य सिंहले जानकारी दिनु भयो ।

तर, पीडित पक्षबाट तत्कालै उजुरी दिन नसक्दा तथा घटनास्थलको सत्यता प्रहरीसमक्ष पुग्न नसक्दा कुटपिट तथा अमानवीय कार्यमा संलग्न व्यक्तिहरू फरार भएका छन् भने पीडित न्यायको लागि भौतारिदैछन् ।

यस्तो थियो घटना
गत साता औरही नगरपालिका–६ बैरीया टोलका सिता शरण दास (तत्मा) को मोटरसाइकल घरबाटै चोरी भएकोमा दासले प्रहरीमा मोटरसाइकल चोरी भएको निवेदन दिनु भएको थियो ।

सोही अनुरूप प्रहरीले उहाँको मोटरसाइकल खोज्दै थियो । निवेदक दास असार २४ गते अचानक सिताशरण दाससहित एक हुल मानिस लिएर सोही ठाउँका राजेन्द्र मल्लिक (डोम) को घरमा पुग्नु भयो ।

घरमा कोही नभएको देखेपछि घरभन्दा करिब ५० मिटर अगाडि एक सार्वजनिक दलानमा बाँसको काम गर्दै गरेकी राजेन्द्रकी पत्नी ४० वर्षीया अनिता देवी, साइली बुहारी २० वर्षीया निर्मला देवी र कान्छो छोरा १७ वर्षीय सुशील मल्लिकलाई भेटेपछि उक्त हुलले उहाँहरूलाई कुटपिट गर्नुको साथै घिसार्दै र मोटो डोरीले हात बाँधेर सिताशरणको घरमा ल्याएर बन्धक बनाएर राख्यो ।

प्रत्यक्षदर्शीका अनुसार आफ्नो चोरी भएको मोटरसाइकल कहाँ राखेको भनेर बन्धक बनाइएका आमा र छोरालाई यातना दिँदै सोधिखोजी गरेको थियो ।

पीडित आमा र छोराले आफूहरूलाई मोटरसाइकलबारे केही थाहा नभएको भन्दै स्थानीयसँग बचाइदिन गुहार मागे पनि कसैले सहयोग नगरेको पीडित अनितादेवी मल्लिकले बताउनु भयो ।

पीडित परिवारका राजेन्द्र मल्लिकले जातीय सभामा भाग लिन गएका बेला आफ्नो परिवारलाई सिताशरणले बन्धक बनाएर राखेको खबर पाएपछि सभाबाटै जातिका अगुवाहरूसहित इलाका प्रहरी कार्यालय रामगोपालपुर पुगेर प्रहरीलाई साथै लगेर पत्नी, छोरा र बुहारीलाई उद्धार गर्न सफल भएको बताउनु भयो ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामगोपालपुरका सई आदित्य सिंहले मोटरसाइकल चोरी विषयमा शङ्काकै भरमा कुटपिट गरेको बुझ्नमा आएपछि तत्काल प्रहरी टोली गएर उद्धार गरेको बताउनु भयो ।

सई सिंहले पीडित पक्षबाट त्यस्तो किसिमको कुनै उजुरी नआएको हुँदा आवश्यक कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउन नसकेको बताउँदै दुवै पक्षलाई बोलाएर घटनाबारे सोधपुछ गर्ने प्रयासमा रहेको बताउनु भयो ।

छोरासँगै बन्धकमा परेकी आमा अनिताले भन्नु भयो–‘सिताशरणले ठूलो अन्याय गर्दै आफ्नो समाजमा रहेको मान प्रतिष्ठा समेत बरवाद गरे । हामीहरूले कसैको कुनै सामान चोरी नगरेको भएपनि आरोपितले मैले धामीलाई मोटरसाइकल चोरीबारे सोधेकोमा धामीले तिमीहरूको नाम बताएकोले तत्कालै मेरो मोटरसाइकल फिर्ता गर भन्दै कुटपिट गरे । बाँधेर जबरजस्ती चोरी स्वीकार गर्न दबाब दिए । हामी माथि ठूलो अन्याय भयो ।’

पीडित अनिताले कुटपिटबाट घाइते भएर गौशालास्थित अस्पताल गएर उपचार गराएको बताउनु भयो ।

यस घटना सम्बन्धमा मानव अधिकार रक्षक सञ्जाल महोत्तरीको टोलीले असार २५ गते घटनास्थलमा पुगेर पीडित परिवारसँग जानकारी लिएको छ ।


अजयकुमार साह