मैदानेका बालबालिकालाई पढ्न जान तीन घण्टा जङ्गलको यात्रा
लिखु तामाकोसी गाउँपालिका-२, सैपु मैदानेकी निशा मगर अहिले कक्षा ११ मा पढ्नु हुन्छ । उहाँले पढ्ने विद्यालय नजिक छैन । विद्यालय पढ्न जान तीन घण्टाको जङ्गलको बाटो हिँड्नु पर्छ । बिहान ७ बजे घरबाट निस्कनु भएकी निशा बल्ल १० बजे सोही वडाको चण्डेश्वरी मावि, सैपुमा पुग्नुहुन्छ ।
बेलुका पनि त्यस्तै हो । ४ बजे स्कुलबाट हिँड्नु भएकी निशा साँझ ७ बजेको आसपासमा घर पुग्नुहुन्छ । ‘हिँड्दा हिँड्दै थाकिन्छ, पढ्ने समय नै हुँदैन’, निशाले भन्नुभयो ।
निशाको मात्र होइन मैदानेबाट पढ्न जाने सबै बालबालिकाको समस्या एउटै छ । स्कुल जानै तीन घण्टा हिँड्नु पर्ने बाध्यता छ । ‘सो गाउँबाट सबैभन्दा नजिकैको स्कुल नै चण्डेश्वरी मावि हो, त्यसैले सबै बालबालिकालाई पढ्न जान तीन घण्टा त हिँड्नै पर्छ, त्यसैले केहीले आफ्ना बच्चालाई बाहिरै राखेर पढाउन लागेका छन्’, लिखु तामाकोसी गाउँपालिका-२ का वडाध्यक्ष सन्तोष पौडेलले भन्नुभयो ।
मैदाने लिखु तामाकोसी गाउँपालिका-२, सैपुको सबैभन्दा विकट गाउँ हो । सो गाउँमा जम्मा तीन घर छन् । ती पनि एउटै दाजुभाइका घर । धनबहादुर मगर काजी, सोमवीर मगर सुब्बा र जितबहादुर मगर सञ्चा, तीन भाइका घर गोठ छन् ।
आलुको अति राम्रो उत्पादन हुने भएकोले यी तीन भाइले आफ्नो थाकथलो छाड्न सकेका छैनन् । ‘आफ्नो पुर्खाको थलो यही हो, छाडेर पनि कहाँ जानु’, धनबहादुर मगरले भन्नुभयो ।
सो गाउँका नागरिकलाई विद्यालय मात्र होइन, स्वास्थ्य, विद्युत लगायका सेवा लिन पनि अति गाह्रो छ । स्वास्थ्य सेवा लिन पनि गाउँबाट तीन घण्टा हिँडेरै जानु पर्छ ।
गाउँमा अहिलेसम्म बिजुली पुगेको छैन । वडाध्यक्षको प्रयासमा स्थानीयले श्रमदान गरी बल्ल बिजुलीको तार गाउँमा पुर्याएका छन् । ‘स्थानीयले श्रमदान गर्नुभयो, हामी पनि श्रमदानमा जुट्यौँ, अब केही दिनमा बत्ती भने बल्छ’, वडाध्यक्ष पौडेलले भन्नुभयो ।
वडाकै अति विकट तीन घर मात्रै रहेको मैदानेमा मोटर बाटो पुर्याइएको भए पनि गाडी चढ्ने मानिस नभएपछि सार्वजनिक यातायात साधन चल्न नसकेको वडाध्यक्ष पौडेल बताउनुहुन्छ । त्यहाँका बालबालिकालाई विद्यालय पुग्न समस्या भए पनि तीन घरका लागि छुट्टै विद्यालय खोल्न पनि नसकिने बाध्यता रहेको उहाँले बताउनु भयो । त्यहाँका बालबालिकालाई आवासीय विद्यालयमा राख्ने व्यवस्था मिलाउन सके उनीहरूलाई पढ्न सहज हुने पौडेलको सुझाव छ ।
नवराज घिमिरे
सम्बन्धित समाचारहरू
अज्ञात पक्षको गोली प्रहारबाट एक जना घाइते
देवानगञ्ज गाउँपालिका-३ का ४० वर्षीय शैलेश भगतमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । व्यवसायी भगतमाथि ०८१ माघ २९ गते अज्ञात पक्षले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका…
बालविवाह घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा पाल्हीनन्दन गाउँपालिका-४, कुश्माका २४ वर्षीय अमरजीत हरिजनलाई प्रहरीले ०८१ माघ ३० गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २८ गते ललाई फकाई…
सामूहिक हत्या गरी आत्महत्या
भुमे गाउँपालिका–४ का आठ महिनाका बालक समिर बुढा र उहाँकी बज्यै ६० वर्षीया ढाँटी बुढाको हत्या आरोप लागेका भुमे गाउँपालिका–४ का ५१ वर्षीय चन्द्रसिंह पुनले आत्महत्या गरेका छन् । घरनजिकै…
बलात्कार गरेको कसुरमा १६ वर्ष ८ महिना कैद सजायको फैसला
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले १७ वर्षीय बालकलाई १६ वर्ष ८ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ २९ गतेको…
ट्रमा सेन्टर सञ्चालन नगरिदा सेवाग्राहीलाई सास्ती
पाटन नगरपालिका–८ खोड्पेमा रहेको ट्रमा सेन्टर आवश्यक उपकरण र जनशक्तिको अभावका कारण पाँच वर्षदेखि सञ्चालनमा आउन सकेको छैन् । जसका कारण सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी र बझाङ जिल्लाका सेवाग्राहीहरुले सास्ती…