मुसहर तथा दलित बस्तीका मानिसहरूले हिँडडुल गर्ने बाटोमा लगाइएको तारबार हटाइयो

  ०८१ असोज १५ गते

नरहा गाउँपालिका-१ गौराहा टोलमा रहेको मुसहर तथा दलित बस्तीका मानिसहरूले हिँडडुल गर्ने बाटोमा लगाइएको तारबार हटाइएको छ ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनी, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश संयोजक राजु पासवान लगायतको टोली असोज १४ गते घटना स्थलमा पुगेपछि जग्गा धनी सोही गाउँपालिका-२ का रामचलितर यादवको परिवारले बाटो बन्द हुने गरी लगाएको तारबार हटाएको हो ।

मुसहर बस्तीका पीडित उचित सदाले सोही गाउँपालिका-२ रामचलितर यादवको जग्गा हाम्रो टोल नजिक रहेको बताउनु भयो । हामी मजदुरी गरेर छाक टार्छौ । रामचलितर यादवको खेतमा मजदुरी गर्दा ज्याला कम पाउछौ तर अरुको खेतमा मजदुरी गर्दा बढी ज्याला पाउने गरेको उहाँले बताउनु भयो । यादव छिमेकी भएकोले कम ज्यालामा पनि काम गरेकै थियौँ ।

तर, एक दिन अरुको खेतमा काम गर्न गएको निहुँमा साबिक हिँड्ने आलिको बाटोमा ०८१ असोज ६ गते यादवका छोराहरूले हाम्रो खेतबाट आवत जावत नगर्न र आवत जावत गरे कुटपिट गर्ने भन्दै नानाथरीका गालिगलौज, धाकधम्की दिँदै साबिकदेखि हिँड्ने बाटोमा काँडा, बाँसको भाटाले तारबार लगाएर आवतजावत गर्नसमेत नमिल्ने गरी बाटो बन्द गरेको सदाले बताउनु भयो ।

जग्गा धनी महेश यादवले भन्नुभयो-“यिनीहरूले हाम्रो खेतमा शौच गर्नुका साथै फोहर फ्याकी खेती गर्न अप्ठ्यारो बनाएको, हामीले दिएको ज्यालामा काम पनि नगर्ने र हाम्रै खेतमा फोहर पनि गर्ने गरेकोले आफ्नो खेतमा जान नदिने गरी घेरबार गरेको र पनि उनीहरूमा सुधार नआए पुनस् घेरबार गर्नेछु” ।

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले जनताको सुरक्षा गर्ने जिम्मेबारी स्थानीय सरकार र प्रहरी प्रशासनको भएको बताउनु भयो । खेतको आली र बाटो लगायतका सार्वजनिक बाटोहरु कसैको व्यक्तिगत सम्पत्ति नभएकोले कसैलाई पनि स्वतन्त्ररुपमा हिँडडुल गर्नबाट रोक लगाउनु र दलित तथा गरिब भएकै कारण भेदभाव र थिचोमिचो गर्नु भनेको मानव अधिकार हनन् गर्नु हो बताउनुहुँदै इलाका प्रहरी कार्यालय नरहाका सइलाई तत्काल घेराबेरा हटाउन र मुसहर बस्तीका व्यक्तिहरूको शान्ति सुरक्षा गर्न निर्देशन दिनु भयो ।

त्यसैगरी, राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेश कार्यालयका प्रमुख बुद्धनारायण सहनीले खेत व्यक्तिगत भए तापनि खेतको आली बाटो कसैले हिँड्न रोक लगाउन नपाउने बताउनु भयो । स्थानीय समुदायलाई आफ्नो सरसफाई र स्वास्थ्यलाई पनि ध्यानमा राखेर शौचालयको व्यवस्था गर्नुपर्ने व्यवस्था गर्न नसक्नेले स्थानीय सरकारसँग सो को माग गर्नुको साथै सोही वडाका वडाध्यक्ष अशोक महतोलाई सार्वजनिक शौचालय व्यवस्था गर्न आग्रह गर्नु भयो ।

वडाध्यक्ष महतोले यसै आर्थिक वर्षमा मुसहर बस्तीमा सार्वजनिक शौचालय बनाउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

इन्सेक मधेस प्रदेश संयोजक राजु पासवानले कसैले पनि सार्वजनिक बाटोमा हिँडडुल गर्नबाट रोक लगाउन नहुने उल्लेख गर्नु हुँदै मुसहर तथा दलित बस्तीमा लगाइएको घेराबेरा गर्ने कार्य मानव अधिकार विपरितको कार्य भएको बताउनु भयो । यस्तो कार्य गरे कारबाही प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग उहाँले माग गर्नु भयो ।

यसैगरी संयुक्त अनुगमन टोलीले जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितसँग भेटघाट गरी घटना बारेमा जानकारी लिनु भयो । भेटघाटको क्रममा एसपी पण्डितले जिल्ला प्रहरी कार्यालयमा असोज १३ गते ठाडो उजुरी लिएर मुसहर बस्तीका व्यक्तिहरू आउनु भएको बताउनु भयो । जग्गा, साँध र सीमानाको घटना भएकोले स्थानीय तहमा रहेको न्यायिक समितिमा उहाँहरूलाई पठाइएको र अन्य शान्ति सुरक्षाको लागि स्थानीय प्रहरी चौकीलाई निर्देशन दिएको बताउनु भयो ।

मुसहर बस्तीका व्यक्तिलाई आवतजावत गर्न बाटो नै अबरुद्ध गर्ने गरी खेतको आलीमा तारबारले घेरा गरेको घटना सार्वजनिक भएपछि मानव अधिकारकर्मीको टोलीले घटनास्थलमा पुगी घटनाको अनुगमन गर्नुका साथै पीडित परिवार, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरू, जग्गा धनी र स्थानीयसँग भेटेर घटनाको बारेमा जानकारी लिएका छन् ।


दुर्गा परियार