मुगुका कैदीबन्दीका परिवारको विचल्ली

  ०८१ कात्तिक २२ गते

छायाँनाथ रारा नगरपालिका–६, मुन्दुकी ३२ वर्षीया चुनमति शाही दुई बालबच्चासहित जुम्ला पुग्नु भएको छ । उहाँ गत साउन महिनादेखि जुम्लामा बस्दै आउनु भएको छ । उहाँको साथमा पाँच वर्षीया छोरी खुशी शाही र चार वर्षीय छोरा लक्की शाही रहेका छन् । उहाँका पति ३२ वर्षीय गोर्खराज शाही छायाँनाथ रारा नगरपालिका–६, मुन्दुका गाउँको एकै परिवारका चार जनाको हत्या गरेको आरोपमा ०८० कात्तिक २० गते प्रहरीले गिरफ्तार गरेपछि दैलेख कारागारमा छन् ।

चुनमतिका पति हत्या आरोपमा दैलेख कारागारमा बन्दीमा परेपछि पत्नि चुनमति, छोरी खुशी र छोरा लक्की विचल्लीमा परेका छन् । गत साउन जुम्ला पुगेका चन्दननाथ नगरपालिका–४ जुम्लास्थित सिंगाचौरमा मन्नु सार्कीको घरमा आश्रय लिएर बस्दै आएका छन् । छोराछुरीको जन्मदर्ता र आफ्नो नागरिकता पनि नभएको चुनमतिले गुनासो गर्नुभयो । उहाँले भन्नुभयो - 'लामो समयदेखि भारतमा बस्दै आएका थियौँ । त्यसपछि बाँके जिल्लाको बैजनाथ गाउँपालिका–१, चिसापानीमा बस्दै आएको थियौँ । गत वर्षको कात्तिक २० गते पति पक्राउ परेपछि हामी यो स्थितिमा आइपुगेका हौँ । पति पक्राउ परी कारागार गएपछि बालबच्चाले पढ्न लेख्न त परै जाओस् राम्रोसँग खाना र लत्ताकपडा पनि पाएका छैनन् ।'

जुम्लास्थित कानुनी सहायता केन्द्रका वकिल नन्दबहादुर खत्री र इन्सेक जिल्ला प्रतिनितिले बालबच्चासहित विचल्लीमा परेको थाहा पाएपछि आवश्यक सहयोगका लागि चन्दननाथ नगरपालिका जुम्लाको महिला तथा बालबालिका शाखामा पहल गरेको छ । महिला बालबालिका शाखाका प्रतिनिधि कमला कठायतका अनुसार नगरपालिकामा बाल कोषमा रकम छ । सहयोगका लागि बैठक बस्ने र बैठकको निर्णय अनुसार आवश्यक सहयोग गर्ने कठायतको भनाइ छ ।

हत्या घटनाका आरोपित शाहीलाई ०८० कात्तिक २० गते सुर्खेतबाट र छायाँनाथ रारा नगरपालिका–६, मुन्दुका ३१ वर्षीय गोपाल बहादुरलाई कात्तिक २१ गते मुगुबाट गिरफ्तारपछि पुर्पक्षका लागि दैलेख कारागारमा थुनामा रहेका छन् । मुद्दा फैसला हालसम्म भएको छैन ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाकका अनुसार छायाँनाथ रारा नगरपालिका–६, मुन्दुका गाउँको २८ वर्षीया श्रीदेवी बोहरा, ११ छोरा वर्षीय मनोज बोहोरा, छोरी सात वर्षीया अप्सरा बोहोरा र पाँच महिनाका छोरा रहर बोहोराको घरभित्रै ०८० कात्तिक १० गते हत्या भएको थियो ।


मानदत्त रावल