मुक्त कमलरीद्वारा परिचयपत्र र सामाजिक सुरक्षाको माग
दाङका मुक्त कमलरीहरूले जुनसुकै काम गर्दा पनि पहिचान चाहिने भन्दै आफूहरूलाई परिचयपत्र उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।
घोराहीमा असोज १७ गते भेला भएका मुक्त कमलरीहरूले मुक्त कमैयालाई जस्तै आफूहरूलाई पनि राज्यले परिचयपत्रको व्यवस्था गर्नुपर्ने माग गरेका हुन् ।
उनीहरूले दासतापछिको स्वतन्त्रताका लागि, मुक्त कमलरीहरूको पहिचानका लागि, राज्यले प्रदान गरेको सकारात्मक विभेदको अवसर लिनका लागि, मुक्त कमलरी एकल महिलाले पाउने सेवा सुविधा लिनका लागि एकै रङ्ग वा प्रकारको परिचयपत्र दिनुपर्ने कमैया महिला जागरण समाजकी केन्द्रीय सचिव लोकमाया चौधरीले बताइन् ।
यसैगरी कमैयासँगै विना पारिश्रमिक (बुक्रही) भएर जमिन्दारको घरमा काम गर्ने कमैया महिलाहरूको उचित पुनःस्थापना गरिनुपर्ने, त्यसका लागि घरजग्गा, आवश्यक सामग्री सहयोग दिने भनी गरिएका प्रतिबद्धता कार्यान्वयन हुनुपर्ने र सामाजिक सुरक्षाका लागि शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गरिनुपर्ने कमैया महिला जागरण समाजकी जिल्ला अध्यक्ष कमलापति चौधरीले बताइन् ।
यसैगरी सकारात्मक विभेदको व्यवस्था गर्दै मुक्त कमैया महिलाहरूको वृत्ति विकासका लागि गाविस तथा नगरपालिकाबाट बजेट विनियोजन गरिनुपर्ने, स्वरोजगारीका लागि उद्योग सञ्चालन गर्ने महिलाहरूलाई विना व्याज ५ लाख रुपियाँसम्म ऋण उपलब्ध गराउनुपर्ने उनीहरूले माग गरे ।
कमैया महिलाहरूले आफ्ना माग सम्बोधन गर्न जिल्लास्थित सरोकारवाला सरकारी निकाय तथा राजनीतिक दलका प्रमुख, प्रतिनिधिहरूलाई बोलाएर कमैया महिला पहिचान तथा मुक्त कमैया पुनःस्थापनाका लागि अन्तरक्रिया समेत गरे ।
उक्त अवसरमा जिल्ला भूमिसुधार कार्यालय, एमाले, माओवादी केन्द्र, राजमोका प्रतिनिधिहरूले माग सम्वोधनका लागि आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
दाङमा ६ हजार ४ सय ७२ मुक्त कमैया रहेका छन् भने ती मध्ये १ हजार ४ सय २६ जनाले मात्र परिचयपत्र पाएका छन् । त्यस्तै ६ सय ८८ जनाले १० धुरदेखि ५ कठ्ठासम्म जग्गा पाएका छन् । तर, उनीहरूसँगै जमिन्दारको घरमा विना पारिश्रमिक कमैया बसी मुक्त भएका ७ हजार कमैया महिलाहरूले मुक्त कमैया परिचयपत्र पाउनुपर्ने माग गर्दै आएका छन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशको निर्वाचन परिणाम
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशको १ गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा १ गाउँपालिका अध्यक्ष र ६ जना वडाध्यक्ष पदको परिणाम घोषणा भएको छ ।…
बर्दगोरिया गाउँपालिकाद्वारा मुक्त कमैयालाई घर हस्तान्तरण
बर्दगोरिया गाउँपालिका—४ स्थित दानुफाँटा मुक्त कमैया शिविरका १२ घर परिवारलाई सुरक्षित आवासको लागि मंसिर १६ गते घर हस्तान्तरण गरेको छ । बर्दगोरिया गाउँपालिका, सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था तथा कृर्षी सहकारी…
सुदूरपश्चिम प्रदेश स्थानीय तह उपनिर्वाचन ०८१ः शान्तिपूर्ण रुपमा सम्पन्न
०७९ सालमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन पश्चात बिभिन्न कारणले सुदूरपश्चिमका पाँच ओटा जिल्लाका पाँच ओटा स्थानीय तहमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिकामा…
चर्किएकै घरमा बस्न बाध्य बुंगलका भूकम्पपीडित !
जिल्लामा ०८० असोज १६ र २० गते आएको विनाशकारी भूकम्प गएको एक वर्ष बित्यो । भूकम्प प्रभावितहरू जसको नियमित आम्दानी थियो, उनीहरूले आफ्नो जोहो गरे । पहुँचवालाले पनि चिसो छल्नेगरी…
स्थानीय तह उपनिर्वाचन ०८१- उदयपुरको बेलका-९ मा मत गणना रोकियो
स्थानीय तह उपनिर्वाचन ०८१ अन्तरगत बेलका नगरपालिका-९ मा वडाध्यक्ष पदका लागि निर्वाचनको मत गणना रोकिएको छ । मङ्सिर १६ गते मतदान सम्पन्न भएर मतगणना सुरू गरेपछि मङ्सिर १७ गते विहान…