मिलापत्रबाटै टुङ्गिन्छन्, महिला हिंसाका उजुरी

  ०७८ पुस २८ गते

महिला हिंसाका घटनामा पीडित बनेर न्यायका लागि प्रहरी र अदालतमा पुगेका महिलाका उजुरीहरू अन्ततः मिलापत्रबाटै टुङ्गिने गरेको पाइएको छ । महिलाहरूको न्यायका लागि कानुनले प्राथमिकता दिएपनि मिलापत्र नै अन्तिम विकल्प देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय धनकुटामा स्थापना भएको महिला बालबालिका सेवा केन्द्रमा सन् २०२१ मा परेका १९ ओटा उजुरीमध्ये १९ ओटै उजुरी प्रहरी कार्यालयबाट फछ्र्यौट भएका छन् । यसरी फछ्र्यौट भएका १९ ओटा उजुरी नै मिलापत्रबाट टुङ्गिएका छन । सन् २०२१ को अवधिमा जिल्ला अदालतमा परेका ३२ ओटा घरेलु हिंसाका उजुरीमा ३० ओटामा उजुरीमा मिलापत्र भएको छ ।

जिल्ला प्रहरी कार्यालयमा परेका उजुरीमा १० ओटा उजुरी पतिले मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको, पाँच ओटा खानलाउन नदिएको, चार ओटा विवाह दर्ता नगरेको रहेको महिला बालबालिका सेवा केन्द्रमा कार्यरत महिला प्रहरी जवान सीता दुलालले बताउनु भयो ।

उजुरी परेपछि दुबै पक्षलाई बोलाएर छलफल गराइने र छलफलबाट निष्कर्षमा पुग्न नसकेमा अदालतमा पठाउने गरेको उहाँले बताउनुभयो । ‘यहाँ आइसकेपछि पतिपत्नी मिलेर बस्ने र पतिले आगामी दिनमा थप पीडा नदिने सहमति गरेर धेरै उजुरीहरू फछ्र्यौट भएका छन।’, उहाँले भन्नुभयो ‘एकपटक उजुरी परिसकेपछि पुनः सोही महिलाले पीडित भएँ भन्दै उजुरी दिएमा आरोपितलाई कारबाहीका लागि अदालत पठाउने गरेका छौँ’ उहाँले प्रहरीमा आएर मिलापत्र गरिसकेपछि दोस्रो पटक कसैलाई बोलाउन नपरेको बताउनु भयो ।

जिल्ला अदालतमा सन् २०२१ मा परेका ३२ ओटा घरेलु हिंसाका उजुरीमध्ये २० ओटा उजुरी पतिले मदिरा सेवन गरेर कुटपिट गर्ने गरेको र सात ओटा खानलाउन नदिएको र पाँच ओटा विवाह दर्ता नगरेका छन् । जसमा दुई ओटा मुद्दा प्रक्रियामा छन् । ३० ओटामा उजुरीमा मिलापत्र भएको छ ।

उजुरी परेपछि दुबै पक्षलाई बोलाएर अदालतको मेलमिलाप कक्षमा छलफल गराइने र छलफलबाट निष्कर्षमा पुग्न नसकेमा मात्रै मुद्दाको प्रक्रिया अगाडि बढाउने गरेको अदालतका श्रेष्ठेदार राजन बाँस्तोलाले बताउनु भयो । अदालतको मेलमिलाप कक्षमा पतिपत्नी मिलेर बस्ने सहमति गरेर धेरै उजुरीहरू फछ्र्यौट भएका छन।’,उहाँले भन्नुभयो ‘एकपटक परेको उजुरी मिलापत्रपछि सोही महिला पीडित भएँ भनेर आएका छैनन् ।

धनकुटा सहिदभूमि गाउँपालिका–४ खोकु घर भएकी २९ वर्षीया दीपा लिम्बूले पतिले मदिरा सेवन गरेर आफू र छोराछोरीलाई कुटपिट गर्ने गरेपछि जिल्ला अदालतमा धनकुटामा उजुरी दिएको स्मरण गर्दै अदालतको मेलमिलाप कक्षमा मिलापत्र भएपछि अहिले घरमा कुनै समस्या नभएको बताउनु भयो । उहाँले ३३ वर्षीय पति भिषण लिम्बूले कुटपिट गरेको आरोपमा घरेलु हिंसा गरेको भनि जिल्ला अदालतमा ०७७ पुस २७ गते मुद्दा दायर गर्नु भएको थियो अदालतले सोही दिन दुवै पक्षलाई छलफल गराई आरोपितले र पीडित पक्षसँग माफी मागेपछि घटनाको मिलापत्र गराएको थियो ।

घरेलु हिंसा कसुर सजाय ऐन २०६६ दफा १३ को उपदफा १ अनुसार घरेलु हिंसा गर्ने व्यक्तिले ३ हजार रुपियाँदेखि २५ हजार रुपियाँसम्म जरिवाना वा ६ महिना जेल सजाय वा दुवै सजाय हुने उल्लेख छ ।


ईश्वर थापा