मार्मा गाउँपालिकाका प्रशासकीय अधिकृतको निवासमा आगजनी, अपरिचित व्यक्तिद्वारा हत्या प्रयास

  ०८० फागुन २६ गते

मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत २७ वर्षीय रोशन अधिकारीको निवासमा अपरिचित व्यक्तिहरुले ढुङ्गामुढा र आगजानी गरी प्रशासकीय अधिकृत अधिकारीको ०८० फागुन २५ गते हत्या प्रयास गरेका छन् ।

प्रशासकीय अधिकृत अधिकारी निवासमा सुतिरहेको अवस्थामा फागुन २५ गते विहान २ बजे अपरिचित व्यक्तिहरुले ढुङ्गामुढा र आगजानी गरी हत्याको प्रयास गरेका हुन् ।

कोठामा सुतिरहेको अवस्थामा अपरिचित व्याक्तिहरुले निवासमा आगजनी गरेर हत्याको प्रयास गरिएको र घटनाका बारेमा प्रहरीलाई जानकारी गराइएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनु भयो ।

आफू काठमाडौँमा रहेको र घटना गम्भिर प्रकृतिको भएकोले घटनाको अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिहरुलाई कारबाही गर्न प्रहरीलाई अनुरोध गरिएको मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिह धामीले बताउनु भयो ।

घटनामा संलग्नहरुको खोजी कार्य गर्न जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालयबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर गोविन्द भण्डारीले बताउनु भयो ।

ईलाका प्रहरी कार्यालय नजिकै रहेको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको निवासमा अपरिचित व्यक्तिहरुले लगाएको आगो प्रहरीले नियन्त्रणमा लिएको र मानविय क्षति नभएको इन्स्पेक्टर भण्डारीले बताउनु भयो ।


नरेन्द्रसिह कार्की