मापदण्ड पूरा नगरी सञ्चालित औषधि पसललाई बन्द गर्न स्थानीय प्रशासनको चेतावनी

मापदण्ड पूरा नगरी सञ्चालित भएका औषधि पसललाई तत्काल बन्द गर्न स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

जिल्ला सदरमुकाम, नलगाड नपास्थित कालिमाटी, छेडागाड नपास्थित थलह बजार र कुशे गाउँपालिकाको पाँचकाटियामा सञ्चालनमा रहेका अधिकांश औषधि पसल मापदण्ड पूरा नगरी सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जाजरकोट सदरमुकाम भित्र रहेका १० वटा औषधि पसल तथा क्लिनिकमध्ये ६ वटाको मात्र मापदण्ड पूरा भएको छ भने कालिमाटी, थलहबजार, पाँचकाटियालगायतका बजारमा सञ्चालनमा रहेका कुनैपनि औषधि पसलको मापदण्ड पूरा नभएको नगरपालिका, गाउँपालिका तथा जिल्ला प्रशासनको अनुगमनका क्रममा पाइएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

अनुगमनका क्रममा नविकरण नभएका औषधि पसललाई तत्काल नविकरण गर्न, जसको नाममा दर्ता छ उही व्यक्ति नै औषधि पसलमा बस्न र दर्ता नगरेका औषधि पसललाई तत्काल बन्द गर्न चेतावनी दिएको प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

स्वास्थ्यकर्मीका नाममा सञ्चालनमा रहेका औषधि पसल तथा क्लिनिकमा औषधिको बारेमा ज्ञान नभएका व्यक्तिको भरमा औषधि पसल सञ्चालन भइरहेको पाइएको बस्नेतले बताए । अधिकांश औषधि पसलमा औषधिको अभिलेख नभएको, दर्ता प्रमाण–पत्र नविकरण नभएको अनुगमनका क्रममा भेटिएको सिडिओ बस्नेतले बताए ।

जाजरकोटका अधिकांश औषधि पसलमा चिकित्सकको सिफारिस बिना औषधि विक्री वितरण गर्न नमिल्ने औषधि समेत राखिएको अनुगमनका क्रममा पाइएको सिडियो बस्नेतले बताए ।

दक्ष जनशक्ति बिना नै औषधि किनबेच गरिएकाले तत्काल कडा कदम चाल्नुपर्ने भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए । उनका अनुसार अवैधानिक तरिकाले लामो समयदेखि औषधि पसल सञ्चालनमा रहेको भएपनि सम्बन्धित निकायले कारवाही नगरेका कारण अवैध प्रकारका औषधि पसलको सङ्ख्या बढ्दै आएको हो ।

विज्ञ व्यक्ति औषधि पसल सञ्चालन गर्ने अनुमति लिएर आफू अन्यत्रै व्यस्त हुने र ज्ञान नै नभएका व्यक्तिलाई औषधि पसलको जिम्मा दिने गरेकाले यस प्रकारको समस्या उत्पन्न भएको नगरप्रमुख घर्तीले बताए ।

अनुमति बिना सञ्चालनमा रहेका साथै सम्बन्धित स्वास्थ्यकर्मीसमेत पसलमा नबस्ने गुनासो आएपछि दक्ष जनशक्ति व्यवस्था गर्न लिखित निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

जिल्लामा रहेको अनुगमन समितिले समयसमयमा बजार अनुगमन गर्ने क्रममा औषधि पसल विक्रेताले औषधि विक्रीको विल नदिने, विक्री गरिएको औषधिको अपडेट नगरेको पाइएको बस्नेतको भनाइ छ । उनले भने–‘जनगुनासो बढेसँगै मेडिकल, फार्मेसी, क्लिनिकलाई यथासक्य चाँडो प्रक्रिया पूरा गर्न निर्देशन दिएका छौँ ।’


दिनेशकुमार श्रेष्ठ