निगरानी समूहको पहलमा लाँकुरीमा विजुली बल्यो

लाँकुरीमा १० वर्षअघि बिजुलीको पोल गाडिएको र २ वर्षअघि समुदायले वाइरिङ गरिसक्दा पनि  विद्युतीकरण नभएकोमा मानव अधिकार निगरानी समूह (मानिस) ले बहसको विषय बनाएपछि जेठ महिनाको तेश्रो साता बिजुली बालिएको छ ।

तारुपरे निर्माण सेवा तथा सप्लायर्स सल्यान नामको निर्माण कम्पनीले ६ महिनामा निर्माण गर्नुपर्ने साँढे ४ किलोमिटर तार खिच्ने काम ३ वर्षसम्म पनि नबनाएको भन्दै निरन्तर चौतर्फी दबावपछि ट्रान्सफर्मर मेसिन राखेपछि विद्युतीकरण भएको हो ।

लाँकुरी गाविस र जिविसको समेत श्रोतमा १० वर्षअघि चुप्राबाट खाडाखोलासम्म पोल गाडिएकोमा पछि खाडाबाट लाँकुरीसम्म बिजुलीको पोल र ट्रान्सफर्मर साँढे ९ लाख रुपियाँको ठेक्का स्वीकृत भएको निर्माण कम्पनीले सुरु गर्दा नै छिट्टै बिजुली बाल्न पाइने आशामा घरघरमा वाइरिङ गरेको २ वर्षभइसक्दा पनि बिजुली बलेको थिएन ।

यो समस्याका विषयमा इन्सेकको इएलपी कार्यक्रम अन्तरगत लाँकुरीमा गठित मानव अधिकार निगरानी समूहले बहसको विषय बनाएपछि राजनीतिक दल, गाउँपालिका र सरोकारवाला समेतको निरन्तर दबावपछि जेठको तेश्रो साता ट्रान्सफर्मर जडान गरेपछि २ सय घरमा बिजुली बलेको हो ।


अमर सुनार