मानसिक समस्याबाट पीडित तारापतीको उपचारपछि फेरिएको जिन्दगी !

  ०७३ माघ ३ गते

शुक्लागण्डकी नपा-२ वनकेवाका ४१ वर्षीय तारापती सापकोटालाई गत वर्ष देख्नेहरू अहिले देख्दा उनको जीवनमा आएको परिवर्तनलाई पत्याउनै गार्‍हो मान्छन् ।  गत वर्षसम्म साङ्लोले बाँधिएर खोरभित्र थुनिएका तारापती अहिले निकै स्वस्थ जीवनका साथ दैनिक काममा व्यस्त भेटिन्छन् । सशस्त्र द्वन्द्वकालमा सशस्त्र प्रहरीको यातनाबाट मानसिक सन्तुलन गुमाएका सापकोटालाई गत वर्षसम्म उनको परिवारले साङलोले बाँधेर घरभित्रै थुनेर राखेको थियो । गत वर्षसम्म परिवारको लागि बोझ बनेका तारापती अहिले भने संरक्षक र पालनकर्ता बनेका छन् । मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत गैरसरकारी संस्था कोशिसले काठमाडौँमा लगी उपचार गरे पश्चात सापकोटाले नयाँ जीवन पाएका हुन् । यस अघि सापकोटालाई कोपीला नेपालले पनि उपचार गरेकोमा सो उपचार सफल भएको थिएन ।

photo20170116tanahu (2)
उपचार पहिले

कोपीला नेपालले पोखरामा लगेर उनको उपचार गरेकोमा कुरुवा बस्ने व्यक्ति नहुँदा सापकोटा भागेर घरमै आएका थिए । त्यसपछि परिवारले उनलाई कोठाभित्र थुनेर राखको थियो । घर बाहिर निस्किएपछि भाग्ने, भिरबाट हाम्फाल्ने जस्ता कार्य गर्न थालेपछि बाध्य भएर घरभित्रै बाँधेर राख्नु परेको उनकी पत्नी अम्बिका सापकोटाले बताइन् ।

०५२ सालमा नेपाल प्रहरीमा भर्ना भएका सापकोटा सशस्त्र प्रहरीको गठनसँगै सशस्त्र प्रहरीमा कार्यरत थिए । ०५८ सालमा उनको सरुवा प्यूठान जिल्लामा भएकोमा जान नमानी घरमा आएको कारण सशस्त्र प्रहरीले यातना दिएपछि मानसिक समस्या देखिएको परिवारले जनाएको छ । सरुवा रद्द भयो भनी बोलाएर गणभित्र पुर्‍याई यातना दिएको सापकोटाले बताए । घटनापछि पत्नी अम्बिकाले खोजी गरी घर ल्याएर उपचार गरेकी थिइन् । त्यसबेलासम्म तारापतीको मानसिक अवस्था कमजोर भइसकेको थियो । मानसिक सन्तुलन गुमेपछि सशस्त्र प्रहरीले उनलाई अवकाश दिएको पीडित तारापतीले बताए ।

photo20170116tanahu (1)
उपचार पछि हालको अवस्था

यातनाबाट शारीरिक र मानसिक अवस्था कमजोर भएका सापकोटालाई परिवारले यसअघि उपचारको लागि भारतको राँचीसमेत लगिसकेको थियो । त्यहाँबाट पनि केही समाधान नभएपछि काठमाडौँमा वरिष्ठ मानसिक रोग विशेषज्ञलाई देखाइएको थियो । त्यहाँ पनि केही सुधार नभएपछि उनका परिवारले रोग निको हुने आशा मारेको अम्बिकाले बताइन् । यसैबिच कोशिसले सापकोटाको अवस्थाको बारेमा जानकारी पाएपछि परिवारसँग सल्लाह गरी उपचारको लागि गत वर्ष काठमाडौँ लगेको थियो । काठमाडौँमा करिव पाँच महिनाको नियमित उपचारसँगै मनोपरामर्श दिएपछि सापकोटा अहिले स्वस्थ भएका छन् । यद्यपी उनले अझै नियमित औषधि सेवन गर्दै आएका छन् ।

कोशिसका तनहुँ जिल्ला संयोजक वसन्त भट्टका अनुसार सापकोटालाई साँढे पाँच महिना काठमाडौँस्थित अल्कालिन सुरक्षित घरमा राखी निःशुल्क उपचार सहितको नियमित रूपमा मनोसामाजिक परामर्श गरिएको थियो । सापकोटाको घर परिवारबाट पाएको सकारात्मक सहयोगकै कारण उनको उपचार सम्भव भएको भट्टले बताए । भट्टका अनुसार सापकोटालाई 'स्किजोफेनिया' नामको कडा खालको मानसिक रोग लागेको थियो । द्वन्द्वकालमा पाएको यातनापछि उनमा यस्तो खाले समस्या देखिएको परिवारले जनाएको छ । सापकोटाको अवस्थाको बारेमा सबैभन्दा पहिले इन्सेकले उजागर गरेको थियो । इन्सेक तनहुँ जिल्ला प्रतिनिधिले पाँच वर्षअघिदेखि नै सापकोटाको बारेमा निरन्तर जानकारी सहित अनुगमन गर्दै आएका थिए । इन्सेकको पहलपछि नै कोपीला नेपालले उनको उपचार सुरु गरेको थियो ।

पतिको अवस्थाका कारण पहिले चिन्तित बनेकी अम्बिका अहिले भने निकै खुसी छिन् । 'वहाँको अवस्था सुधार हुन्छ भन्नेमा विश्वास भएपनि आश मार्न थालेको थिएँ । सबैको प्रयत्न र पहलले गर्दा आज हाम्रो परिवारको खुसी फर्किएको छ ।'-उनले भनिन् । उनकी छोरी रविनाले पनि बुवाको अवस्था अहिले निकै सुधार भएकोमा आफूलाई निकै खुसी लागेको बताइन् ।

तारापती भने विगतको कुरा सम्झन चाहँदैनन् । आफू विगतमा सशस्त्र प्रहरीमा कार्यरत रहेको र सरुवा भएको ठाउँमा जान नमान्नुको परिणाम नै आफ्नो मानसिक सन्तुलन गुमेको उनले बताए । 'अब जे भयो भयो । पुरानो कुरा सम्झिएर केही हुन्न ।'-उनले भने-'अब नयाँ जीवन सुरु गर्नु पर्छ ।' पहिले आफ्नो कारण परिवारले निकै दुःख पाएको भन्दै उनले अब बाँकी जीवन परिवारको खुसीमा लगाउने योजना सुनाए ।

photo20170116tanahu (3)

तारापती हाल दैनिक काममा खटिन्छन् । पत्नी अम्बिका र छोरी घरैमा खोलिएको पसल चलाउँदै घर सञ्चालन गर्छन् भने तारापती 'काम'मा जान्छन् । केही दिन यता उनी घर नजिकैको शुक्लागण्डकी पोल्ट्री फार्ममा पर्खाल लगाउने काममा व्यस्त छन् । उनी अन्य मजदुर सरह दिनभर खटिएर काम गर्न सक्ने सो फार्मका सञ्चालक दिपक सापकोटाले बताए । उनले पहिलेको तारापती र अहिलेको तारापतीमा धेरै फरक भएको भन्दै मानसिक स्वास्थ्यको पनि राम्रोसँग उपचार र परामर्श गरे सञ्चो हुन सक्ने विश्वास भएको बताए ।

जिल्लामा करिव २० जना द्वन्द्वकालीन यातना पीडितहरू रहेको यातना पीडित समाजका अध्यक्ष विष्णुप्रसाद भट्टराईले बताए । उनले यातना पीडितहरू द्वन्द्वको ज्यूँदो सहिद भएको हुँदा उनीहरूको उपचार र पुनःस्थापनाको लागि राज्यले पहल गर्नु पर्ने बताए । यातनाबाट मानसिक सन्तुलन गुमेका तारापतीको अवस्था अहिले पूर्ववत भएको भन्दै उनले समाजमा यस्ता अन्य पीडितहरू पनि रहेको र उनीहरुको बारेमा पनि खोजी गरी उपचार र मनोपरामर्श सेवा दिनु पर्ने बताए ।

 


प्रकाशचन्द्र भट्टराई