मानव विकास सूचाङ्कलाई थयार्थपरक र वस्तुनिष्ठ बनाउनुपर्छः पोखरेलको सुझाव

मानव विकास सूचाङ्क थयार्थपरक र वस्तुनिष्ठ नभएको र मानव विकास सूचाङ्कमा केही कमजोरी भएको प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताउनुभएको छ ।

मुख्यमन्त्री पोखरेलले युएनडिपीले मङ्सिर २४ गते बुटवलमा आयोजना गरेको मानव विकास सुचकांक प्रतिवेदन सार्वजनिक कार्यक्रमको सम्बोधन गर्दे यस्तो कुरा बताउनुभएको हो ।

उहाँले प्रतिवेदनमा जुन हिसावले हाम्रो अवस्थालाई देखाइएको छ । सोही अनुरूप हाम्रो अवस्था नभएको भन्दै वास्तविक र यथार्थपरक तथ्याङ्कले मात्रै समस्या समाधानमा सहयोग पुग्ने भन्दै हामीलाई कमजोर र हिनताबोध हुने गरी प्रस्तुत हुनुभन्दा पनि देशमा रहेका तीन तहका सरकारले गरेको कामको सूचकहरूलाई विश्लेषण गरेर एकीकृत रूपमा मानव विकासको सूचाङ्क विश्लेषण गरिनुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले तुलनात्मक रूपमा नेपाल अन्य देशको तुलनामा सन्तुलित भएको भन्दै सधैँभरी आपूmलाई पछाडि रहेको हिनताबोधमा राखेर समाजलाई अगाडि बढाउन नसकिने भएकाले समाजको यथार्थ विश्लेषण गरेर समाजसामु ल्याउनुपर्ने बताउनुभयो ।

समाजलाई अगाडि बढाउनका लागि उत्प्रेरणा जगाउने र प्रोत्साहित गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष डा.इश्वर गौतमले दीगो विकास लक्ष्य प्राप्तीका लागि प्रदेश सरकारले संवेदनशील भएर अगाडी बढेको बताउदै विगतको तुलनामा यसको क्रमिक सुधार हुँदै गएकोले आगामी दिनमा यो अङ्क घटेर जाने बताउनुभयो ।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का कार्यक्रम व्यवस्थापक बलराम पौडेलले काठमाडौँ केन्द्रित कार्यक्रमलाई पहिलो पटक प्रादेशिक रूपमा सात ओटै प्रदेशमा एकैसाथ कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको बताउँदै यसरी प्रादेशिकस्तरमा कार्यक्रम चलाउँदा फरक खालको सुझाव आउने अपेक्षा लिएको बताउनुभयो बताउनुभयो ।

अघिल्लो वर्ष १ सय ४८ औँ स्थानमा रहेको नेपाल सन् १९९० देखि २०१८ सम्म औसतः मुल्य क्रमश बृद्धि गरिरहेको छ ।

खासगरी प्रतिव्यक्ति आय, शिक्षाको अवस्था औसतः आयुलाई आधार मानेर हेर्दा मानव विकास सूचाङ्क निकाल्ने गरिन्छ । यसमा मुलुकहरूले गरिबी निवारण र भोकमरीबाट उम्कन गरेका प्रयासको अध्ययन गरिएको हुन्छ ।

युएनडिपीको प्रतिवेदन अनुसार नेपाल र केन्या समान स्थानमा रहेका छन् । प्रतिवेदनमा संसारभरका १ सय ८९ स्थानसम्म वर्गिकरण गरिएको उल्लेख छ ।

जसमध्ये नेपाल मानव विकास सूचाङ्क भएका अन्य मुलुकको तुलनमा सन्तुलनमा रहेको देखिन्छ । जसमा १ सय ५३ औ स्थानमा सोलोमन आइल्याण्ड रहेको छ ।

मानव विकास सूचाङ्कमा सबैभन्दा अग्रस्थानमा नर्वे रहेको छ भने स्वीजरल्याण्ड, आयरल्याण्ड, जर्मनी, हङकङ, अष्ट्रेलिया, आइसल्याण्ड, स्वीडेन र सिङ्गापुर पहिलो १० औँ स्थानमा रहेका छन् ।

नेपालमा मानव विकास सूचाङ्क मुल्य २०१८ का लागि ०.५७९ रहेको छ । यस मुल्यले मानव विकास सूचाङ्कलाई श्रेणीमा राखेको छ ।

जसमा विश्वभरका १ सय ८९ देशमध्ये नेपाल १ सय ४७ औँ स्थानमा रहेको छ । नेपालको मानव विकास सूचाङ्क मुल्य पछिल्लो ३ दशकमा न्यूनतम ०.५७९ अर्थात औसत ०.५२६ ले बृद्धि भएको देखिन्छ ।

सन् १९९० देखि २०१८ सम्म नेपालको जन्मदरको औसत आयुमा १६.१ वर्षको बृद्धि भएको छ । विद्यालय शिक्षाको मध्यम वर्ष २.८ ले वृद्धि भएको छ । विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ वर्षले बृद्धि भएको छ ।

मानव विकास प्रतिवेदनको अवधारणा सन् १९९० मा युएनडिपीले पहिलो पटक ल्याएको हो ।


रीमा बिसी