मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइयो

मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी देशैभर मनाइएको छ ।

इन्सेक रामेछाप जिल्ला प्रतिनिध नवराज पथिकका अनुसार मानव बेचबिखन तथा ओसारपसार विरुद्धको ११ औँ राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी मनाइएको छ । महिला तथा बालबालिका कार्यालय रामेछाको आयोजनामा भदौ २० गते मानव बेचबिखन विरुद्धका प्ले कार्डसहित निकालिएको र्‍यालीले सदरमुकाम मन्थली बजार परिक्रमा गरेको थियो ।

Photo20170905Ramechhap

जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू नागरिक अगुवाको सहभागिता रहेको र्‍यालीले बजार परिक्रमा गरी जिल्ला समन्वय समितिको सभाको हलमा गएर सभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताए ।

जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर श्यामबहादुर थापाले जिल्लामा मानव बेचबिखन तथा ओसारपसारको अवस्था र नियन्त्रणको कार्य बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै लाग्नु पर्नेमा जोड दिए ।

इन्सेक मोरङ जिल्ला प्रतिनिधि इन्दिरा भट्टराईका अनुसार राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरूद्धको ११ औँ दिवसका अवसरमा भदौ २० गते 'अबको गन्तब्यः मानव बेचबिखनको अन्त्य' भन्ने मुल नाराका साथ विराटनगर रानीस्थित भन्सार गेट क्षेत्रमा प्रभातफेरी निकालिएको छ ।

प्रभातफेरी रानी क्षेत्रमा परिक्रमा गरेर पुनः भन्सार गेटमा आएर कोणसभामा परिणत भएको थियो । रानी भन्सार क्षेत्रमा दिनभर सचेतनामुलक माइकिङ, पर्चा पम्पलेट वितरण, साँझ दिपावली गरिने कार्यक्रम रहेको छ ।

जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले मानव बेचबिखनको स्वरूप र बाटोहरू  परिवर्तन भएकोले त्यसै अनुसार नियन्त्रणका लागि कदम चलाउनुपर्ने बताए ।

उनले मानव बेचबिखनमा पनि महिला तथा बालबालिका बढी प्रभावित हुने गरेको र अन्तर्राष्ट्रिय सञ्जाल बनाएर अपराध गर्नेहरूले बेचबिखन गर्ने गरेको भन्दै सरकारी र गैरसरकारी क्षेत्रबाट सचेतनामुलक कार्यक्रम गर्दै न्यूनीकरण गर्नुपर्ने बताए ।

त्यसैगरी विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले बेचबिखनमा बढी महिला पीडित हुने गरेको भन्दै यसको न्यूनीकरणमा महिला नै जागरूक हुनुपर्ने बताइन् ।

मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले पहिले देशभित्रै दास प्रथा, कमैया प्रथाका नाममा बेचिने गरेको स्मरण गर्दै देशबाहिर पनि मानव बेचबिखन हुने हुँदा दुवै विषय संवेदनशील भएकोले संयन्त्र बनाएर न्यूनीकरण गर्नुपर्ने बताए । उनले सीमा नाका र विमानस्थलमा सधैँ तैनाथ रहेर अभियान चलाउन सके बेचबिखन न्यूनीकरण गर्न सकिने बताए ।

महिला तथा बालवालिका कार्यलय प्रमुख दुर्गा बराल भण्डारीले दिवसको अवसरमा सीमा क्षेत्र र बाढी पीडित क्षेत्रमा सचेतनामूलक कार्यक्रम भइरहेको बताइन् । मोरङ प्रहरीका अनुसार मोरङमा गएको तीन वर्षको अवधिमा ४१ ओटा बेचबिखनका घटना भएको र त्यसमा ७० जना महिला, १८ जना पुरूष पीडित भएका छन् । जसमा ४६ जना बालबालिका तथा ४२ जना किशोरकिशोरी रहेका छन् ।

इन्सेक इलाम जिल्ला प्रतिनिधि कोकिला ढकालका अनुसार दिवसका अवसरमा अन्तरपार्टी महिला सञ्जालले इलामको ठूलो टुँडीखेलबाट र्‍यालीको आयोजना गरेको थियो ।

र्‍याली पछि मानव अधिकार मञ्च नेपाल इलामको संयोजनमा चेतना नाट्य समूहले मानव बेचबिखन विरूद्ध सडक नाटक प्रस्तुत गरेको थियो । र्‍यालीमा अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मीलगायतको सहभागिता थियो ।

'अबको गन्तव्यः मानव बेचबिखनको अन्त्य' नारासहित मनाइएको दिवसका अवसरमा रोङ गाउँपालिकामा मानव बेचबिखनको रोकथाम र उद्दार सचेतना कार्यक्रम गरिएको छ । कार्यक्रममा माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए । शान्ति निकेतन माविका विद्यार्थीहरूलाई कार्यक्रममा सहभागी गराइएको थियो ।

गाउँपालिकाका अध्यक्ष सम्शेर राईले कार्यक्रममा मानव बेचबिखन र त्यसबाट बच्न अभिभावकले विशेष ध्यान दिनु पर्ने बताए ।

इन्सेक कास्की जिल्ला प्रतिनिधि सङ्गीता भाटका अनुसार कास्की जिल्ला पर्यटन गन्तव्य भएसँगै यौन ब्यवसायको अखडा बन्ने क्रम बढेकोमा एक कार्यक्रमका वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।

११ औँ मानव बेचबिखन तथा ओसारपसार विरूद्धको दिवसका अवसरमा भदौ २० गते आयोजित प्रभातफेरी कार्यक्रम समापनपछि आयोजित कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालयकी प्रमुख लक्ष्मी जिसीले कास्कीमा छोराछोरी सुरक्षित नभएको बताइन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण जिल्ला समिति, इन्सेक क्षेत्रीय कार्यालय पोखरालगायतका संस्थाहरूले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।

पोखरा-लेखनाथ मनपा-६ का वडा अध्यक्ष जगतबहादुर पहारीले मानव बेचबिखनमा मुख्य पीडित महिलाहरू नै हुने गरेकाले विशेष गरी महिलाहरू नै बढी सचेत र जागरूक हुनुपर्ने बताए ।

जिल्ला प्रहरी कार्यलयका डिएसपी खड्कबहादुर खत्रीले जनता सचेत भएमा मानव बेचबिखनका  घटनामा न्यूनीकरण आउने बताउँदै कानुन कार्यन्वयनमा नेपाल प्रहरीले महत्वपूर्ण भुमिका खेल्ने बताए ।


अनलाइन डेस्क