मानव बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

२० वर्षीया र २१ वर्षीया दुईजना युवतीलाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारत लैजाँदै गरेको अरोपमा साना हात नेपालसँगको सहकार्यमा प्रहरीले भैरहवाको बुद्धचोकबाट जेठ २५ गते राति उद्दार गरेको छ भने एक जना आरोपितलाई बुद्धचोकबाटै गिरफ्तार गरेको छ ।

आरोपित स्याङ्गजा जिल्ला कालीगण्डकी गाउाँपालिका-५ का २० वर्षीय सुमन बिक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित युवतीहरूलाई आरोपितले नेपालमा कुनै राम्रो रोजगार नभएको र भारतमा काम पनि राम्रो पाइने र पैसा पनि राम्रो हुने प्रलोभन देखाएर बेचबिखनका लागि लैजान लागेको प्रहरीको आरोप छ ।

त्यसैगरी २३ वर्षीया महिलालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको अरोपमा साना हात नेपालसँगको सहकार्यमा प्रहरीले सहकार्यमा भैरहवाको सिर्द्धार्थ बसपार्कबाट जेठ २६ गते दिउँसो उद्धार गरी एक जना आरोपितलाई बसपार्कबाटै गिरफ्तार गरेको छ ।

आरोपित बाग्लुङ्ग जिल्ला काठेखोला गाउँपालिका-८ का ३९ वर्षीय रघुनाथ कँडेल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित महिलालाई आरोपितले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर बेचबिखनका लागि लैजान लागेको र वैदेशिक रोजगारीका लागि पठाइने भन्ने बाहाना मात्र भएको प्रहरीको आरोप छ ।

त्यसैगरी १७ वर्षीया बालिकालाई राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर भारतको बाटो हुँदै कुवेत लैजाँदै गरेको आरोपमा माइती नेपालसँगको सहकार्यमा प्रहरीले बेलहिया नाकाबाट जेठ २६ गते दिउँसो उद्धार गरी एक जना आरोपितलाई बेलहियाबाटै गिरफ्तार गरेको छ ।

आरोपित चितवन जिल्ला भरतपुर नगरपालिका-८ का ४२ वर्षीय राज भन्ने भुमकान्त कँडेल रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।

पीडित बालिकालाई आरोपितले राम्रो जागिर लगाइदिने प्रलोभन देखाएर बेचबिखनका लागि लैजान लागेको प्रहरीको आरोप छ ।


रीमा बि.सी.