मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

  ०७८ कात्तिक १० गते

२७ र २९ वर्षीया महिलाहरूलाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले पोखरा महानगरपालिका–१७ बिरौटाका ४२ वर्षीय सुरेश तामाङ र बारा जिल्ला कोल्बी नगरपालिका–१ कोल्बीका २६ वर्षीय ऋषि भट्टराईलाई कात्तिक ७ गते गिरफ्तार गरेको छ ।

पोखरा महानगरपालिका–६ स्थित एक होटलमा यौन कार्य सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले कात्तिक ७ गते होटलमा छापा मारेर आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडितहरूलाई आरोपितहरूले होटलमा काम लगाइदिने भन्दै प्रलोभनमा पारेको र केही समयपछि डर त्रास देखाइ जबरजस्ती यौन कार्य गर्न बाध्य पारेको भन्दै पीडितहरूले आरोपितहरूविरुद्ध कात्तिक ८ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दा अन्तरगत जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

पीडितहरूको स्वास्थ्य परीक्षण कात्तिक ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।


सुशन घिमिरे