मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

  ०७८ भदौ १७ गते

२९ वर्षीया महिलालाई जबरजस्ती यौन कार्य गराएको आरोपमा प्रहरीले इलाम माई नगरपालिका–८ चिसापानी घर भइ हाल पोखरा महानगरपालिका–६ शान्तिनगर बस्ने २८ वर्षीया अस्मिता राईलाई भदौं १५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पोखरा महानगरपालिका–६ स्थित एक होटलमा यौन कार्य सञ्चालन हुँदै आएको सूचनाका आधारमा प्रहरीले भदौ १५ गते होटलमा छापा मारेर आरोपितलाई गिरफ्तार गरेको थियो ।

पीडितलाई आरोपितले आफूले सञ्चालन गरेको रेष्टुरेन्टमा खाजा नास्ता बनाउने तथा वेटरको काममा लगाइदिन्छु भनी प्रलोभनमा पारेको र केही समयपछि डर त्रास देखाई जबरजस्ती यौन कार्य गर्न लगाएको भन्दै पीडितले आरोपितविरुद्ध भदौ १५ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

प्रहरीले आरोपितविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुर शीर्षक अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको र पीडितलाई मनोपरामर्श गरेर आफन्तको जिम्मा लगाइएको उहाँले बताउनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ १६ गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा  गरिएको छ ।


सुशन घिमिरे