मानव बेचबिखन तथा ओसारपसार कसुरमा १०/१० वर्ष कैद सजाय

  ०८१ असार २६ गते

१८/१९ वर्षका दुईजना युवतीलाई मानव बेचबिखन तथा ओसारपसार गरेको कसुरमा ०८१ असार २५ गते गल्छी गाउँपालिका—८ की ४८ वर्षीया सरस्वती पनेरुलाई छुट्टै दुई मुद्दामा १०/१० वर्ष कैद गर्ने फैसला जिल्ला अदालतले सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश गीता श्रेष्ठको इजलासले होटल सञ्चालन गरी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न भएको भन्दै १०/१० वर्ष कैद गरी दुवै मुद्दामा १/१ एक लाख गरी २ लाख रुपियाँ जरिवाना असुल गर्न र पीडितहरुलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्ति दिन फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार माधव भण्डारीले इन्सेक अनलाईनलाई जानकारी दिनुभयो ।

गल्छी गाउँपालिका—८ नबुवाबोटेमा होटल सानदार सञ्चालन गरेर मानव बेचबिखन तथा ओसारपसार गर्ने गरेको  र आफूहरु पीडित भएको भन्दै सोही होटलमा काम गर्ने १९ वर्षका दुईजना युवतीले ०८० वैशाख २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडितहरुको धादिङ अस्पतालमा ०८० वैशाख २९ गते स्वास्थ्य परीक्षण र उपचार भएको थियो ।

आरोपित विरुद्ध जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालय मार्फत ०८० जेठ २१ गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएकोमा जेठ २४ गतेको आदेशले पुर्पक्षका लागि थुनामा रहेको कसुरदार पनेरु विरुद्ध २० पटकको पेसीपछि मुद्दाको किनारा लागेको थियो । जिल्ला अदालतले ०८१ असार १३ गते मानव बेचबिखन तथा ओसारपसार मुद्दामा पनेरुलाई कसुर कायम गरेको थियो ।


सीताराम अधिकारी