मानव बेचबिखन तथा ओसारपसारमा महिला गिरफ्तार

  ०८१ जेठ ३१ गते

१६ वर्षीया बालिकादेखि ४० वर्षीया महिलालाई वेश्यावृतिमा लगाई आर्थिक लाभ लिने गरेको आरोपमा प्रहरीले राजविराज नगरपालिका-८ स्थित लक्ष्मी गेस्ट हाउसका सञ्चालक रुपनी गाउँपालिका-१ की ४० वर्षीया रामप्यारी मुखियालाई ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ ।

असई हरेन्द्र प्रसाद यादवको प्रतिवेदनका आधारमा जिल्ला प्रहरी कार्यालयले जेठ २८ गते गिरफ्तार आरोपितविरुद्ध मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ अन्तर्गतको कसुरमा उजुरी दर्ता गरेको डिएसपी ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो । पत्रकारको पहल र स्थानीयवासीको रोहवरमा जेठ २८ गते प्रहरी टोलीले खानतलाशी गर्दा पाँच ओटा बेड विस्तरासहितको कोठामा बालिका र महिलाहरू लुकेर बसेको, प्रयोग भएको र हुन बाँकी कण्डमहरू फेला परेको तथा वेश्यावृतिमा लगाई आर्थिक लाभ लिने गरेको पाइएको असई यादवले बताउनु भयो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले मानिस बेचे वा किनेमा, वेश्यावृत्तिमा लगाएमा, शरीरको अङ्ग झिकेमा, वेश्यागमन गरेमा मानव बेचबिखनको कार्य गरेको मानेको छ । उक्त ऐनको दफा १५ (ख) मा कुनै प्रकारको फाइदा लिई वा नलिई वेश्यावृत्तिमा लगाउनेलाई कसुरको मात्रा अनुसार दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र ५० हजार रुपियाँदेखि १ लाख रुपियाँसम्म जरिबाना गरिने व्यवस्था छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा ११९ मा वेश्यागमनको प्रचार गर्ने, गराउनेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपियाँ सम्म जरिबाना हुने उल्लेख छ । यस्तै संहिताको दफा १२० मा वेश्यावृत्तिका लागि घर, जग्गा र सवारी साधन उपलब्ध गराउनेलाई छ महिनासम्म कैद वा ५ हजार रुपियाँसम्म जरिवाना वा दुबै सजायको व्यवस्था छ ।


मनोहरकुमार पोखरेल