मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार

  ०८० मङ्सिर १७ गते

१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५ वर्षीया सपना तामाङ भन्ने पूजा रानालाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

आरोपितले पीडित बालिकाहरूलाई आर्थिक प्रलोभनमा पारी विगत १० महिनादेखि कलङ्की र नयाँ बसपार्कका होटलमा राखेर जबरजस्ती यौनजन्य क्रियाकलापमा संलग्न गराएको भन्दै नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा मङ्सिर १३ गते मौखिक उजुरी परेको थियो ।

सोही उजुरीका आधारमा आरोपितलाई मङ्सिर १४ गते गिरफ्तार गरिएको ब्युरोका प्रवक्ता एसपी कृष्णप्रसाद पङ्गेनीले इन्सेकलाई जानकारी दिनुभयो । त्यसैगरी ब्युरोको टोलीले कलङ्कीबाट बालिकाहरूलाई उद्धार गरेको छ । एसपी पङ्गेनीका अनुसार उद्धार गरेका बालिकाहरूलाई प्रहरीले सुरक्षित आवास गृहमा राखिएको छ ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते थापाथलीस्थित प्रसुति गृहमा गरिएको छ । आरोपितलाई मङ्सिर १४ गते जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको एसपी पङ्गेनीले जानकारी दिनुभयो ।


विमल पौडेल