मानव बेचबिखन तथा ओसापसार घटनाका आरोपित गिरफ्तार

  ०८१ भदाै १२ गते

२८ वर्षीय व्यक्तिलाई मानव बेचबिखन तथा ओसापसार गरेको आरोपमा महालक्ष्मी नगरपालिका–८, लुभु बस्ने ३७ वर्षीय शंकर खत्रीलाई भदौ ९ गते र मकवानपुर जिल्ला भीमफेदी गाउँपालिका–२ का ४२ वर्षीया शान्तीमाया घलानलाई भदौ ११ गते गिरफ्तार गरिएको प्रहरी परिसर जावलाखेलका प्रवक्ता एवम् एसपी नरेश राज सुवेदीले जानकारी दिनुभयो ।

पीडितलाई आरोपितले ललाइ फकाइ प्रलोभनमा पारेर भारत लगेर १० लाख रुपियाँको प्रलोभन देखाएर मृगौला झिकेको पाइएको मानब बेचबिखन ब्यूरोका एसपी एवम् प्रवक्ता गौतम मिश्रले बताउनु भयो ।

‘मान्छेका दुई वटा मृगौला हुन्छन् । एउटा झिके अर्कोले काम गर्छ । केही समस्या हुँदैन र मृगौला दिएमा धर्म हुन्छ भन्दै फकाएको देखिन्छ’ एसपी मिश्रले भन्नुभयोे ।

उनीहरुले काठमाडौंमा स्वाथ्य परीक्षण गराएर स्थलमार्ग हुँदै वीरगञ्जबाट कोलकत्ता पुर्याएर मृगौला झिकेको आरोप लागेको छ । कोलकत्ता पुगेपछि मृगौला दिन इन्कार दिँदा समेत उनीहरुले प्रलोभन देखाउनुका साथै धम्की समेत दिएको पीडितको भनाइ छ ।

मृगौला प्रत्यारोपण गर्न एकाघर परिवारको सदस्य हुनुपर्ने भएकाले त्यसका लागि उनीहरुले नक्कली नागरिकतादेखि नाता प्रमाणपत्र समेत नक्कली बनाएको खुलेको प्रहरीले जनाएको छ ।

नेपालदेखि भारतसम्म पुर्याउन फरक फरक व्यक्तिको प्रयोग भएको र १० लाख रुपैयाँ दिने भने पनि पीडितले भने अनुसार रकम नपाएको प्रहरी समक्ष बताएका छन् ।

०८० माघ २८ गते कोलकत्ता पु¥याएर मृगौला झिकेको आरोपसहित ०८१ साउन २५ गते पीडित परिवारले प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिए पश्चात खोजी गर्ने क्रममा आरोपितलाई खोजी गरी गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण पाटन अस्पतालमा ०८१ साउन २५ गते नै गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।

आरोपित विरुद्ध मानव बेचबिखन तथा ओसार पसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ९ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको एसपी मिश्रले बताउनु भयो ।


दीपकप्रसाद घिमिरे