मानव बेचबिखन घटनाका आरोपित गिरफ्तार

  ०८० पुस २१ गते

एक बालिका र दुई महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले पोखरा— ९ पृथ्वीचोकका २९ वर्षीय प्रविण गुरुङ, काठमाडौं शंखमुलका २३ वर्षीय निर्मल मल्ल र पोखरा– १७ का २६ वर्षीय राजेश ठकुरीलाई ०८० पुस २० गते गिरफ्तार गरेको छ ।

पोखरा– ८ जाल्पारोडमा रहेको काभ्रेली खाजा घरका सञ्चालकले सुरुमा समस्यामा परेका बालिका तथा महिलालाई आफ्नो होटलमा ल्याएर सरसफाइको काम लगाएर पछिल्लो समय यौन व्यवसायमा लगाउँदै आएको बालिका तथा महिलाले बताउनुभएको हो ।

सुरुवातमा होटलमा सरसफाइको काम लगाइदिएको र पछि राम्रो कमाइ हुने प्रलोभन देखाएर पुरुषहरुसँग भेट गराइदिने र यौन व्यवसायमा लगाउँदै आएको देखिएकाले गिरफ्तार गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी श्रवण विकले बताउनुभयो ।

गिरफ्तार परेका तीनै जनामाथि मानव बेचविखन तथा ओसारपसारसम्बन्धी मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको डिएसपी विकले जानकारी दिनुभयो ।


सन्जय रानाभाट